Logo
Logo

विद्यार्थी खोज्दै विद्यालय



काठमाडौं । कोरोना भाइरस सङ्क्रमणका कारण कक्षामा नियमित रूपमा उपस्थित हुन नसकेका विद्यार्थीको कसरी खोजी गर्ने भन्ने नै अहिले सरोकारवालाको मुख्य समस्याको विषय बनेको छ । अनलाइन कक्षाका साथै भौतिक रूपमै पढाइ सुुरु भएपछि पनि कमै मात्र विद्यार्थी कक्षामा उपस्थित भएका छन् ।

उपत्यकाका धेरै सार्वजनिक विद्यालयमा ३० प्रतिशतको हाराहारीमा विद्यार्थी अनलाइन कक्षामा अनुपस्थित रहेपछि आफ्ना विद्यार्थीको खोजी कसरी गर्ने भन्नेमा अहिले धेरैलाई चिन्ताको विषय बन्न पुगेको छ । कक्षामा विशेष गरी छात्राहरू बढी नियमित पठनपाठनमा छुटेका कारण उनीहरूलाई कसरी पुनः कक्षाकोठामा भित्र्याउने भन्नेमा विद्यालयले चासो देखाउन थालेका छन् ।

राजधानीको जनकल्याण माध्यमिक विद्यालय बौद्धले आफ्ना पुराना विद्यार्थीमध्ये ७० प्रतिशत विद्यार्थी मात्र हाल अनलाइन कक्षामा आएपछि बाँकी विद्यार्थीलाई खोज्न शिक्षकलाई रिचार्ज कार्ड उपलब्ध गराएर फोन सम्पर्क गर्न थालेको छ । फोन सम्पर्क गरेपछि २०७७ सालमा कक्षाकोठाभन्दा बाहिर भएका कमजोर आर्थिक अवस्थाका विद्यार्थी २०७८ सालको नयाँ शैक्षिक सत्रमा भर्ना भएर पुस्तक लिएर गएको विद्यालयका प्रधानाध्यापक कुमारीकमला राई बताउनुहुन्छ ।

कोरोनाका कारण कति विद्यार्थी छुटे भन्ने यकिन विवरण भने भौतिक रूपमा कक्षा लाग्न थालेपछि मात्र थाहा हुने उहाँ बताउनुहुन्छ । विद्यालय खुलेपछि मात्र विद्यालयमा नआएका विद्यार्थीले कक्षा छोडेको, अन्य विद्यालयमा भर्ना भएको वा के कस्तो अवस्थामा छन् भन्ने कुरा पत्ता लाग्ने उहाँ बताउनुहन्छ ।

ललितपुरस्थित आदर्शशौउल माध्यमिक विद्यालयको प्राथमिक तहमा झन्डै २० प्रतिशतको हाराहारीमा विद्यार्थी अझै कक्षामा आउन सकेका छैनन् । विद्यालयले विद्यार्थीलाई पुरानो नम्बरमा फोन गरेर सम्पर्क प्रयास गरे पनि उनीहरूसँग सम्पर्क कायम हुन नसकेको विद्यालयका प्रअ सरोजभक्त आचार्य बताउनुहुन्छ ।, यो समाचार गोरखापत्र दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्