Logo
Logo

आन्तरिक पर्यटकका रोजाइमा ‘प्याराग्लाइडिङ’



पोखरा । पोखरामा आन्तरिक पर्यटकको चहलपहलसँगै प्याराग्लाइडिङ गर्नेको सङ्ख्या पनि बढेको छ । दसैँ तिहारका समयमा यहाँ घुम्न आउने अधिकांश पर्यटकले प्याराग्लाइडिङ गर्ने गरेको नेपाल हवाई खेलकूद संस्थाका अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए ।

उनले कोरोना पछि पोखरामा आन्तरिक पर्यटकको आगमनले प्याराग्लाइडिङ गर्नेको सङ्ख्या पनि बढेको बताए । ‘अहिले पोखरामा प्याराग्लाइडिङ गर्नेको सङ्ख्या राम्रो छ यसले प्याराग्लाइडिङ व्यवसायीलाई उत्साहित बनाएको छ ।’ उनले भने । गत वर्ष ५० प्रतिशत छुट दिएर उडान गरेको भए पनि यो वर्ष भने छुट दिन नसकेको उहाँको भनाइ छ । ‘गत वर्ष पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित ५० प्रतिशत छुटमा उडान गराएका थियौँ, तर त्यो रकमले उडानका अपरेटिङ कस्ट पनि उठ्न गाह्रो भयो, त्यसैले अहिले छुटमा उडान गर्न सकेनौं । उनले लामो समय उडान नहुँदा इक्विपमेन्ट मर्मत गर्नुपर्ने र ग्लाइडर पनि नयाँ खरिद गर्नुपर्ने भएकाले पनि अहिले छुटमा उडान गर्न कम्पनी तयार नभएको बताए ।

प्याराग्लाइडिङ पाइलट क्लबका अध्यक्ष विमल पहारीका अनुसार दसैँको समयमा दैनिक करिब ४०० सम्म उडान भएको र अहिले दैनिक एक डेढ सय उडान भइरहेको जानकारी दिए । ‘साहसिक खेलमा रुचि हुने आन्तरिक पर्यटकका कारण व्यावसायिक उडानप्रति आशा जगाउँदै लगेको छ ।’ उनले भने । ‘गत वर्ष असोजमा पनि बन्दाबन्दि खुकुलो पछि प्याराग्लाइडिङ गर्ने सङ्ख्या निकै राम्रो थियो, कोरोनाको दोस्रो लहरले फेरि रोकियो, अहिले भने केही आशा जगाएको छ ।’ पहारीले विशेष गरी १५ देखि ४० वर्षसम्म उमेर समूहकाले उडानमा बढी रुचि देखाउने गरेको बताए । उनीसँगै ७५ वर्ष सम्मकालाई उडाएको अनुभवसमेत छ । पहारीका अनुसार उडान गर्ने कलेजका विद्यार्थी र कर्पोरेट क्षेत्रका बढी रहेका छन् । सरकारी कर्मचारी भने अलि कम छन् । उडानको मज्जा लिने कास्की जिल्लाका २० प्रतिशत र अन्य जिल्लाका ८० प्रतिशत छन् ।

दशैंको तिहारको समयलाई सदुपयोग गर्दै यहाँ घुम्न आउनुभएका हेटौँडाका सिजन र रमिता कोइरालाले पनि प्याराग्लाइडिङबाट पोखरा र आसपासका सुन्दर दृष्य अवलोकन गर्दा निकै आनन्द लागेको बताए । ‘पर्यटकीय सहर पोखराको सुन्दरतालाई चराजस्तै उडेर सुन्दर हिमशृङ्खला, फेवातालसँगै डाँडाकाँडाको हरियाली दृश्य निकै मनमोहक लाग्यो, उडान पनि निकै रोमाञ्चक लाग्यो ।’ ्सिजनले भने ।

यहाँ हवाई खेलकूद संस्थाबाट प्याराग्लाइडिङ उडान अनुमति लिएका ३३८ प्यारापाइलट छन् यसमा १२ महिला छन् । यहाँ ६० प्याराग्लाइडिङ कम्पनी छन् । यस क्षेत्रमा करिब रु एक अर्बको लगानीे छ । अहिले छ हजार शुल्कमा उडानको मजा लिन सकिन्छ । हिमालय स्काइ एडभेञ्चर प्याराग्लाइडिङ कम्पनीका सञ्चालक माधव तिवारीले ‘सेफ्टी र सेक्युरिटी’लाई ध्यान दिएर उडान भइरहेको जानकारी दिए ।

विगतमा प्यारा पाइलटबाट भएका कमिकमजोरी र लापर्बाहीका कारण केही दुर्घटना भएका घटना सार्वजनिक भएसँगै अहिले उडानमा विशेष सुरक्षा सतर्कता अपनाइएको उनले बताए । उनले भने, ‘विगतमा एकाध घटनाले पोखराको आकाश असुरक्षित छ कि भन्ने आशंका जन्माएको थियो, तसर्थ पनि अहिले उडान सुरक्षालाई कडाइ गरेर पूर्ण सेक्युरिटीका साथ उडान गरिएको छ ।’ प्यारापाइलट र यात्रु दुवैले उडानका नियमलाई पूर्णरुपमा पालना गर्नुपर्ने सञ्चालक तिवारीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्