Logo
Logo

चुरे पहाडको फेदीमा मुस्कुराएको जखेरा ताल



दाङ । जखेराताल, अर्थात देशकै एउटा सुशोभित प्राकृतिक सम्पत्ति । करिब नौ दशक अघि प्राकृतिक रुपमै चुरे पहाडको काखमा बास गरेको सम्पदा हो, जखेरा ताल ।

जखेरालाई अहिले तस्वीरमा देखिए जत्तिकै बनाउन यहाँका उपभोक्ता र संरक्षण समितिले थुप्रै कठिनाइ भोगेका छन् । गाउँमा पालिएका गाई÷भैंसीलाई खडेरिमा पानी खुवाउने र आसपासका खेतीयोग्य जमिनमा सिंचाइ गर्ने उदेश्यले झण्डै नब्बे बर्ष अँघिबाट यहाँका स्थायी बासिन्दाको पहलमा तालको संरक्षण गर्न थालिएको थियो ।

उतिबेला सामान्य पानी पोखरिको रुपमा रहेको जखेराताल, हाल बाहिय तथा आन्तरिक पर्यटकको पहिलो रोजाइको रुपमा स्थापित छ । यो तालको रमणीय दृश्यअवलोकन गर्न लुम्बिनी प्रदेशको राजधानी भालुबाङ बाट करिब बिस किलोमीटर पश्चिम पुग्नुपर्छ । व्यस्त पुर्वपश्चिम राजमार्गको श्रीगाउँ चोकबाट करिब चौंध सय मिटर उत्तर लागेपछि यो प्राकृतिक सौर्न्दर्यताको भरपुर आनन्द लिन सकिन्छ । लमही नगरपालिका वडा नम्बर तीन स्थित करिब सात विगाह क्षेत्रफलमा रहेको तालको बिचोबिच भागमा २ वटा मन्दिरहरु पनि रहेकाछन् । मोटर जडित आधुनिक डुंगामा चढेर मन्दिर दर्शन तथा तालको सयर गर्न सकिन्छ ।

पछिल्लो दस वर्षयता निर्माण भएका भौतिक संरचनाहरुले पनि ताललाई झनै आकर्षक बनाउँदै लगेका छन् । सरकारी तथा विभिन्न गैरसरकारी निकायको आर्थिक एवं नैतिक सहयोगले गर्दा नै एउटा सामान्य पानी पोखरीलाई जखेरा तालको रुपमा चिनाउन सफल भएको यस् क्षेत्रका उपभोक्ताहरुको धारणा छ ।

उसोत आगन्तुकको चाँप बढेसँगै ताल वरपर विभिन्न ब्यबसाय गरिरहेका ब्यापारीहरुले पनि आफ्नो आयस्रोतमा वृद्धि भएको बताउँछन् । ‘सुरुवाती दिनहरूमा कयौं कष्ट गरियो । हप्तौंसम्म पर्यटकहरु नआउँदा ब्यापार शुन्य पनि भयो । यद्यपि हामीले धैर्यता गर्‍यौं । हाम्रो धैर्यता र तालको विकास क्रमले गति लिएपछी हाल ब्यापारबाट सन्तुष्ट छौँ’ भन्छन्, जखेरातालका प्रतिष्ठित होटेल व्यावसायि खड्क बहादुर बुढा मगर ।

यो तालको चर्चा सुनेर बुटवलदेखि पारिवारिक घुमघामका लागि जखेरा ताल आएका सुशील पुन मगर करीब सात वर्ष पहिले पनि यहाँ आएका थिए । छोँटो समयमा भएको स्वरुप परिवर्तनले जखेरा तालको भविष्यमा थुप्रै सम्भावना देखाएको उनको आशय छ ।

विगत बाह्रवर्ष अघिदेखि जखेरा तालमा किराना व्यवसाय गर्दै आएका सेतिराम डाँगि पनि आफ्नो ब्यापारबाट पहिले भन्दा अहिले सन्तुष्ट नै छन् । तर जखेरा ताल आउने आगन्तुक एवं ग्राहकहरुले अधुरो कालोपत्रे सडकको बारेमा गुनासो गर्ने गरेको उनको भनाई छ । पुर्वपश्चिम राजमार्गको श्रीगाउँ चोकबाट चौंध सय मिटर उत्तरमा पर्ने जखेरा ताल पुग्ने भित्री बाटो करीब पाँच सय मिटर मात्रै कालोपत्रे भएको छ । बाँकी रहेको कालोपत्रेको काम पनि यसै आर्थिक वर्षमा पूरा हुने जखेरा शिवालय धार्मिक पर्यटन विकास संरक्षण प्रतिष्ठानले जनाएको छ ।

तालको पश्चिम भागमा ४ वटा पिकनिक स्टलहरु पनि रहेका छन् । जसलाई प्रती स्टल पाँचसयका दरले भाडामा दिने गरिएको छ । त्यस्तै डुङ्गा सयर गरे वाफत प्रती व्यक्ति एक सय लिने गरिएको छ । गत असोज महिनामासम्म कोभिडको त्रासका कारण सार्वजनिक घुमघामको वातावरण नरहेकाले पिकनिक समुहहरु कमै आएपनी डुङ्गामा भने पन्ध्र सय बयानब्बे टिकट बिक्री भएको कर्मचारी सरिता चौधरीले जानकारी दिएकी छन् । विशेष गरि तिहार पछि देखि नयाँ वर्षसम्म पिकनिक समुहहरुको घुइँचो लाग्ने गरेको जखेरा शिवालय धार्मिक पर्यटन विकास संरक्षण प्रतीष्ठानका सह-अध्यक्ष रविध्वज थापाको भनाइ छ ।

करिव तीन वर्ष अघि ३९ करोड बराबरको अनुमानित लागतमा यस तालाको भौतिक संरचना निर्माण एवं पर्यटन प्रवर्द्धन सम्बन्धि गुरुयोजना समेत निमार्ण भएको छ । त्यसैगरी गत आर्थिक वर्षमा नेपाल शहरी सासकिय पुर्वाधार साझेदारी विकास कार्यक्रम अन्तर्गत तालको प्राङ्गण भित्र २० लाखको लगानिमा ग्रीन पार्क निर्माण भए सँगै तालको सौन्दर्य झनै बढेको छ । बढ्दो जलवायु परिवर्तनको प्रतिकुल असरलाई निस्तेज गर्न कुनाकन्दरामा लुकेर बसेका हाम्रा प्राकृति सम्पत्तिको संरक्षण गर्नु जिम्मेवार निकायसँगै हामी सबैको कर्तव्य हो ।

प्रतिक्रिया दिनुहोस्