Logo
Logo

गोरेलाई थप १० वर्ष कैद, सनमका परिवारलाई १३ लाख क्षतिपूर्ति



विराटनगर । साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोर’लाई अपहरण मुद्दामा १० वर्ष कैद सजायको फैसला सुनाएको छ ।

जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासले गोरेलाई अपहरण तथा शरीर बन्धक मुद्दामा थप १० वर्ष कैद, एक लाख जरिवाना र मृतक सनम शाक्यको परिवारलाई १३ लाख ११ हजार क्षतिपूर्ति भराउने गरी सजाय निर्धारण गरेको अदालतका श्रेस्तेदार टिकेन्द्रबीरजंग राणाले बताए ।

सुन तस्करी प्रकरणमा सफाई पाएका गोरेलाई शाक्यको हत्या अभियोगमा दोषी ठहर गर्दै अदालतले गत असोज १९ गते जन्मकैद फैसला सुनाएको थियो । फैसलामा अपहरण तथा शरिर बन्धक मुद्दामा दोषी ठहर गरेपनि सजाय निर्धारण गरेको थिएन् ।

यसअघि जन्मकैद सजाय सुनाइएका गोरेको कैदमा अपहरण मुद्दाको सजाय जोडिने छैन । दुवै सजाय सँगै अघि बढ्ने भएकाले अधिकतम सजाय कायम हुने राणाले बताए ।

गोरेले मुद्दा दर्ता भएदेखि सजाय निर्धारण भएको मितिसम्म दैनिक एक हजार रुपैयाँका दरले जम्मा १३ लाख ११ हजार रुपैयाँ शाक्यको परिवारलाई क्षतिपूर्ति दिनुपर्ने हुन्छ ।

सनम शाक्य हत्या र सुन तस्करी प्रकरणमा ७७ जनालाई प्रतिवादी बनाइएको थियो । ती मध्ये २१ जना अझै फरार छन् ।

प्रतिक्रिया दिनुहोस्