Logo
Logo

पाँचथर दुर्घटना अपडेट : १६ जना घाइतेलाई हेलिकोप्टरमार्फत विराटनगर पठाइयो



पाँचथर । पाँचथर बस दुर्घटनाका १६ घाइतेलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उपचारको लागि विराटनगर पठाइएको छ । गम्भीर घाइतेलाई सेनाको एम आइ–१७ हेलिकोप्टरबाट आज साँझ विराटनगर पठाइएको हो ।

पाँचथरका प्रमुख जिल्ला अधिकारी पुन्य प्रसाद ठकालका अनुसार उद्धार गरिएको १६ जनालाई विराट नर्सिङ अस्पताल, न्युरो अस्पताल र नोबेल अस्पताल विराटनगर लगिएको छ ।

उनका अनुसार भुपेन्द्र भण्डारी, प्रकाश रोका मगर , नवीन रोका मगर, मेदिना विक, अनुस्का विक, उपना विक, देवीमाया थापा, बाबुराम थापा, शान्ता लावती, सोमबहादुर राई, दुर्गा कार्की, पवन देवान, कल्पना आचार्य, कृष्टिना आचार्य, कृर्तिका आचार्यलाई उपचारका लागि विराटनगर पठाइएको हो ।

अर्का एक घाइतेको नाम खुलेको छैन । घाइतेसँगै तीन जाना बिरामी कुरुवा पनि पठाइएको छ । गम्भीर घाइते भएका चार जनलाई दिउँसो नै उपचारका लागि झापा रेफर गरिएको थियो ।

प्रदेश १ का पूर्व आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो तथा माओवादीका पाँचथरका सह–इन्चार्ज हर्के नेम्बाङ मिक्सोको पहलमा हेलिकोप्टरमार्फत उनीहरुलाई अस्पताल पठाइएको हो ।

फिदिम नगरपालिका–४ शिवादोभानबाट झापातर्फ जाँदै गरेको को १ ख ३८६५ नम्बरको बस फिदिम नगरपालिका–४ सरखण्डेमा दुर्घटनामा परेको थियो ।

उक्त दुर्घटनामा परी आसिका बुढाथोकी, मोरङ लेटाङका सात वर्षीय प्रज्जल मगर, इलामका ३४ वर्षीया प्रमिला देवान र उनका सात महिने छोरा निस्चल देवानको मृत्यु भइसकेको छ ।

दुर्घटनामा घाइते २८ जनालाई एम्बुलेन्समार्फत थप उपचारका लागि झापाका विभिन्न अस्पताल पु¥याइएको छ ।

प्रतिक्रिया दिनुहोस्