Logo
Logo

राष्ट्रपतिको छोरीलाई एमालेको पदाधिकारी बनाउने तयारी



काठमाडौं । दशौं महाधिवेशन तयारीमा जुटेको नेकपा (एमाले) मा उषाकिरण भण्डारीसहितका केही नयाँ अनुहारलाई नेतृत्वमा ल्याउने तयारी भइरहेको छ ।

मदन भण्डारी तथा राष्ट्रपति विद्यादेवी भण्डारीकी जेठी छोरी हुन् । अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य भएकी उषाकिरण मदन भण्डारी फाउण्डेशनको अध्यक्षसमेत रहेकी छिन् ।

भविष्यमा एमालेको नेतृत्वमा स्थापित गर्ने उद्देश्यसहित भण्डारीलाई दशौँ महाधिवेशनबाट पार्टीको मुख्य जिम्मेवारी दिइने एमाले उच्च स्रोतले दृष्टिलाई बताएको छ ।

दशौं महाधिवेशनबाट एकपटक अध्यक्ष बनेर राजनीतिक जीवनबाट बिदा लिने तयारी गरेका ओलीले मदन भण्डारीका छोरीलाई आफ्नो उत्तराधिकारीका रुपमा स्थापित गर्न खोजेका हुन् ।

पार्टी एकताका निम्ति गरिएको १० बुँदे सहमतिलाई अध्यक्ष केपी शर्मा ओलीले ‘ट्याउँ–ट्याउँ’ को संज्ञा दिएपछि अन्तिममा माधव नेपालको साथ छोड्नेहरु बिचल्लीमा परेका छन् । ओलीले अब आफूलाई पुस ५ पछि पनि साथ दिएका कतिपय नेता–कार्यकर्तालाई बिचल्लीमा पार्ने गरी विधान तोडमोड गर्न लागेको एमालेस्रोतले जनाएको छ ।

त्यसक्रममा उषाकिरणलाई ‘जननेता मदन भण्डारीकी उत्तराधिकारी र नयाँ पुस्तालाई पार्टी हस्तान्तरण’ भन्ने नाममा पार्टी नेतृत्वमा ल्याउने भित्री तयारी थालिएको हो । स्रोतका अनुसार, उनलाई पदाधिकारीमै ल्याउने सहमति भएको छ ।

त्यसबाहेक गायिका कोमल वली, हालै स्पेनबाट फिर्ता भएकी राजदूत दावा फुटी शेर्पा, विवादास्पद पूर्वडिआइजी नवराज सिलवाल, व्यापारी मोतिलाल दुगड, ‘मार्सी’का नामले चिनिने मेडिकल माफिया दुर्गा प्रसाईंसहितका गैरकम्युनिष्ट र बिचौलियाहरुलाई पार्टीको नेतृत्वमा ल्याउनका लागि बालकोटमा त्यसअनुकूलको विधान लेखेर छपाईमा दिने तयारी भइरहेको छ ।

ओलीले पार्टीमा आफूपछि नेतृत्व गर्ने व्यक्तिका रुपमा कसलाई अगाडि सार्लान् भन्ने जिज्ञासा सर्वत्र उठिरहेको बेला आफूअनुकूलको पदाधिकारी र केन्द्रीय सदस्य ल्याउनका लागि विधान अधिवेशनले पारित गरेभन्दा फरक प्रावधानसहित विधान छपाईमा दिन लागिएको बताइन्छ ।

महाधिवेशनले केन्द्रीय सदस्य हुनका लागि पार्टी सदस्य भएको १० वर्ष हुनुपर्ने प्रावधान पारित गरेको थियो । तर, त्यसो गर्दा ओलीले चाहेका कतिपय व्यक्तिहरु केन्द्रीय कमिटीमै आउन सक्दैनन् ।

विधान महाधिवेशनले केन्द्रीय सदस्य हुनका लागि अनुमोदन गरेको व्यवस्थामा लेखिएको छ, ‘केन्द्रीय कमिटी वा केन्द्रीय निकायको सदस्य भई काम गरेको वा राष्ट्रिय प्रतिनिधि परिषद्को सदस्य भई काम गरेको वा प्रदेश कमिटी सदस्य भई काम गरेको वा केन्द्रीय विभागको सचिव वा सदस्य भई काम गरेको वा जिल्ला कमिटीको पदाधिकारी भई १ कार्यकाल वा सदस्य भई दुई कार्यकाल काम गरेको वा कम्तीमा १० वर्ष पार्टी सदस्य भई काम गरेको हुनुपर्नेछ ।’

ओलीले पदाधिकारी र केन्द्रीय सदस्य बनाउन चाहेका कतिपय नेता, कार्यकर्ताहरु यो प्रावधानभित्र नपर्ने कारण विधान प्रकाशनमा पठाउनुअघि काइते शैलीमा केही व्यवस्थाहरु थप्न लागिएको स्रोतको दावी छ । दृष्टिलाई प्राप्त सूचनाअनुसार, बालकोटमा मस्यौदा गरिएको उक्त प्रावधानमा ‘पार्टी र आन्दोलनमा लामो समय योगदान गरी राष्ट्रिय व्यक्तित्व निर्माण गरेका दिवंगत नेताको परिवार भएमा वा कम्तीमा एक कार्यकाल सांसद भएका वा कूटनीतिक जिम्मेवारी सम्हालिसकेका वा राष्ट्रिय उद्योगपति, विशिष्ट श्रेणीबाट अवकासप्राप्त कर्मचारी, संवैधानिक अंगमा सेवा गरेका पदाधिकारी भएमा…।’ भन्ने कुरा उल्लेख गरिएको छ ।

ओलीले कसलाई वरिष्ठ उपाध्यक्ष बनाउलान् भन्ने जिज्ञासा सर्वत्र उठिरहेको छ । एमाले स्रोतका अनुसार, ओलीले पार्टीमा अहिले रहेका पदाधिकारीमध्ये कसैलाई पनि पूरै विश्वास नगरेका कारण हाल पदाधिकारी रहेका नेतामध्ये कसैलाई पनि वरिष्ठ उपाध्यक्ष नबनाउने भएका छन् ।

पार्टीमा ओलीभन्दा वरिष्ठ नेता अमृत बोहोरा हुन् । तर, उनी महाधिवेशनअघि नै ७० वर्ष पुग्नाले ‘वैधानिक प्रावधान’ देखाउँदै बिदा गरिने भएको छ । त्यसपछिका ‘वरिष्ठ’ मा क्रमशः रामबहादुर थापा (बादल), सुवास नेम्वाङ, अष्टलक्ष्मी शाक्य, ईश्वर पोखरेल, युवराज ज्ञवाली हुन् । यीमध्ये सुवास उमेरले सबभन्दा जेठा हुन् । सुवासपछि अष्टलक्ष्मीको उमेर बढी छ । एमालेको विधानमा एक वरिष्ठ उपाध्यक्ष र तीन उपाध्यक्षको व्यवस्था गरिएको छ ।

ओलीले तीन उपाध्यक्षमा रामबहादुर थापा (बादल), अष्टलक्ष्मी शाक्य र ईश्वर पोखरेललाई मात्रै समेट्न चाहेको बालकोटस्रोतले जनाएको छ । वरिष्ठ उपाध्यक्षका हकमा कि ‘हालका लागि रिक्त’ भन्ने कि सहमतिबमोजिम कसैको नाम राख्ने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्