काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)लाई गतिशील र प्रभावकारी बनाउने बताएका छन् ।
नेपाल पर्यटन बोर्डले आज यहाँ आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा मन्त्री आलेले निगमलाई सबल र प्रभावकारी ढङ्गले अघि बढाउने उद्देश्यले निगमको कार्यकारी अध्यक्ष पनि नियुक्त भइसकेकाले छिट्टै बोर्ड बैठक बसेर महत्वपूर्ण निर्यय लिइने बताए ।
‘नेपाल एयरलाइन्सको जहाजलाई घाममा सुकाएर निजी एयरलाइन्ससँग सेटिङ गरेर रातारात करोडपती बनाउने त्यसपछि गएर निगमको भूमिस्त सेवा (ग्राउण्ड ह्याण्डलिङ)लाई निजी कम्पनीलाई दिनेजस्तो व्यक्तिगत स्वार्थको धन्दा यो मन्त्री प्रेम आलेले गर्दैन । म आएको ४५ घण्टा नबित्दै निगममा १०४ दिनदेखिको आन्दोलन स्थगित गरियो । कार्यकारी अध्यक्ष नियुक्ति गरिसकेका छौँ अब प्रभावकारी काम हुनेछ’, उनले भने ।
मुलुकमा बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउने वातावरण सिर्जना गर्न निगमको क्षमता र बजार विस्तार गरी विश्व बजारमा निगमका जहाज सहजरूपमा पुग्ने वातावरण बनाउनेतर्फ मन्त्रालयले काम गर्ने बताए ।
पर्यटनमन्त्री आलेले कोभिड महामारीबाट शिथिल बनेको मुलुकको पर्यटन क्षेत्रको पुनःरुत्थान एवं प्रवद्र्धनका लागि निजी क्षेत्रको साझेदारीतामा सक्रियरुपमा कार्यक्रम अघि बढाइने विश्वास व्यक्त गरे।














