Logo
Logo

तिहार नजिकिएसँगै भाइमसलाको व्यापार बढ्यो



काठमाडौं । तिहार शुरू हुन १ हप्ता बाँकी हुँदा दिदीबहिनीले आफ्ना दाजुभाइलाई टीका लगाएपछि दिने भाइमसलाको व्यापार ह्वात्तै बढेको छ ।

व्यापारीहरूका अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष काजु, बदाम, पेस्ता, नरिवल, ओखर, छोकडालगायत मसलाको व्यापार करीब १० प्रतिशतले बढेको छ ।

अघिल्लो वर्षको तिहारमा कोरोना महामारीको त्रास धेरै भएकाले यसको व्यापार उल्लेख्य रूपमा हुन नसकेको खुद्रा व्यापारसंघका महासचिव अमुलकाजी तुलाधरले बताए । तर, यसपटक भने त्रास कम भएकाले भाइमसलाको व्यापार बढेको छ ।

सामान्य अवस्थाको तुलनामा तिहारको समयमा काजु, बदाम, किसमिस, ओखरलगायत वस्तुको व्यापार करीब ३० देखि ४० प्रतिशतसम्मले वृद्धि हुने गरेको छ ।

नेपालमा तिहारको समयमा मात्रै करीब ६० करोड रुपैयाँसम्मको भाइमसलाको कारोबार हुने गरेको व्यापारीहरू बताउँछन् । यसपटक भाइमसलाको मूल्यमा समेत केही वृद्धि भएको पाइएको छ ।

संघका अनुसार छोकडाको मूल्य प्रतिकिलो १ सय १५ रुपैयाँबाट बढेर २ सय ५० रुपैयाँ कायम भएको छ । किसमिसको मूल्यमा प्रतिकिलो ५० रुपैयाँले बढेर ४ सय बाट ४ सय ५० रुपैयाँ पुगेको छ ।, यो समाचार आर्थिक अभियान दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्