Logo
Logo

गर्भपतनसम्बन्धी समाचार सम्प्रेसन गर्दा ध्यान दिन आग्रह



काठमाडौं । प्रजनन स्वास्थ्य अधिकार र सुरक्षित गर्भपतन सम्वन्धी समाचार सम्प्रेसन गर्दा ध्यान दिनुपर्ने कुराहरुको विषयमा संचारकर्मी र स्वास्थ्यकर्मीबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

वियोण्ड वेइजिङ कमिटी (बीबीसी)द्वारा सोमवार राजधानीमा आयोजित कार्यक्रममा सञ्चारकर्मी कृष्णा पौडेलले ‘सुरक्षित गर्भपतन सम्वन्धी अधिकारको वकालतमा सञ्चारको भूमिका’ विषयक कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।

उनले समाचारमा छापिने शब्द, भाषाका कारण महिला र उनका पारिवारिक जीवन समेत समाप्त हुने भएकोले व्यक्तिगत हक हनन् नहोस् भन्ने हेतुले समाचार सम्प्रेषण गर्नुपर्ने कुरामा जोड दिइन् ।

सुरक्षित गर्भपतन सम्वन्धी कानुन भएर पनि बहुसङ्ख्यक महिलाले त्यसको लाभ नलिएको र नाम परिवर्तन भन्दै बाँकी सबै तथ्य सञ्चारमाध्यममा सार्वजनिक हुँदा महिला र उनका परिवारको जीवनमा असर परेको बताउँदै यस्ता समाचार लेख्दा कानूनी कुराहरुलाई बुझेर लेख्न उनले आग्रह समेत गरेकी छन् ।

त्यस्तै जनस्वास्थ्य विद् डा. लक्ष्मी तामाङले गर्भपतनलाई गर्भनिरोधकको रूपमा लिने प्रवृत्तिलाई निरूत्साहित गर्नुपर्ने बताउँदै यस्ता कुरालाई मिडियाले प्रथमिकता दिनुपर्ने तर्क दिइन् ।

उनले अनिइच्छाएको, विकलाङ्ग, हाडनाता करणीलगायत आमाको स्वास्थ्यमा गम्भिर असर हुने भएको अवस्थामा मात्र सुरक्षित गर्भपतनको सेवा लिन आग्रह गरिन् । गर्भपतनलाई सामान्य मान्ने प्रवृत्तिले समाजमा महिलाहरुको स्वास्थ्यमाथि गम्भिर असर परेको उदाहरण दिँदै यस्ता विषयमा आम मानिसले बुझ्ने गरी चिरफार गर्न आग्रह गरिन् ।

कार्यक्रममा वियोण्ड बेइजिङ कमिटीका अध्यक्ष सुशिला श्रेष्ठले कमिटीले उठाउने थुप्रै मुद्दामध्ये महिलाको शरीरमाथिको नियन्त्रण उनकै हुनुपर्छ भन्दै आफ्नो संस्थाले ‘सि डिसाइड्स’ भन्ने अभियान नै चलाइएको बताइन् ।

आफ्नो संस्थाले गरेका अध्ययानको निष्कर्ष सुनाउँदै अध्यक्ष श्रेष्ठले महिलाको आफ्नो शरीरमाथिको नियन्त्रण उनको नभएर परिवार, पति, नातागोता वा नेपाली समाजको हुने गरेको भन्दै यो अवस्थाको अन्तका लागी सरोकारवालाहरु गम्भिर हुनुपर्ने माग गरिन् ।

प्रतिक्रिया दिनुहोस्