Logo
Logo

फोनिजको सातौँ संघीय महाधिवेशन माघमा



काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) संघीय समितिको सातौं महाधिवेशन आगामी माघ ७ र ८ गते हुने भएको छ ।

बुधबार फोनिज संघीय समितिको नुवाकोटमा बसेको सातौं पूर्ण बैठकले सातौँ महाधिवेशन गर्ने निणर्य गरेको हो ।

बैठकले सातौं महाधिवेशनको विभिन्न कार्यक्रमका तालिका सार्वजनिक गरेको छ । जसअन्तर्गत मंसिर १५ गतेसम्म देशभर सदस्यता वितरण तथा नवीकरण गर्ने, मङ्सिर २५ गते सबै एकै दिन जिल्ला तथा प्रवास अधिवेशन सम्पन्न गर्ने, पुस २४ गते सातवटै प्रदेश महाधिवेशन र माघ ७ र ८ गते संघीय महाधिवेशन गर्ने निर्णय गरिएको फोनिजका महासचिव मनोज घर्तीमगरले बताए ।

महासचिव घर्तीमगरका अनुसार महाधिवेशनस्थल संघीय समितिको सचिवालय समितिको बैठकले टुङ्गो लगाउने छ ।

महाधिवेशनमा नेपालका ५४ जिल्ला शाखा र छ वटा प्रवास शाखा तथा जातीय संघसंस्थाका प्रतिनिधि, पर्यवेक्षक तथा प्रदेश र जिल्ला शाखाका पदाधिकारीको सहभागिता रहने संघीय अध्यक्ष डण्ड गुरुङले बताए । फोनिजको जापान, मलेसिया, अमेरिका, दक्षिण कोरिया, युएई र बेलायतमा शाखा विस्तार गरिएको छ ।

फोनिजमा गुरुङ, लिम्बू, मगर, नेवार, राई, शेर्पा, तामाङ र थारू पत्रकार सङ्गठन आवद्ध रहेका छन् । जिल्ला अधिवेशन सम्पन्न गर्नका लागि सम्बन्धित प्रदेश समितिलाई अधिकार दिने निर्णय गरिएको छ ।

नुवाकोटको ककनीस्थित नेपाल स्काउट अन्तर्राष्ट्रिय सभाहलमा बसेको बैठकको निर्णय सबै शाखाहरुलाई सर्कुलरका रुपमा पठाइने फोनिज सङ्घीय समितिका सङ्गठन सचिव मिलन लिम्बूले जानकारी दिए ।

बैठकले देशको समसायिक विषयमा फोनिजको तर्फबाट खेल्नुपर्ने भूमिकालाई कडाइका साथ अगाडि बढाउने समेत निणर्य गरेको सचिव लिम्बूले बताए ।

प्रतिक्रिया दिनुहोस्