Logo
Logo

कुमारी मोक्तान : जनसरकार प्रमुखदेखि मन्त्रीसम्म



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) बागमती प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डे बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । मुख्यमन्त्री पाण्डेसंगै तीन मन्त्रीसमेत आजै पद तथा गोपनियताको सपथ लिएका छन् ।

तीनमध्येका एक हुन्, कुमारी मोक्तान । नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश संसदीय दलका उपनेतासमेत रहेकी मोक्तान सामाजिक विकाममन्त्रीको रुपमा पद तथा गोपनियताको सपथ लिएका छन् । मोक्तान मकवानपुरको निर्वाचन क्षेत्र–२ (क) बाट २०७४ सालमा बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएकी हुन् ।

द्वन्द्वकालदेखि नै माओवादीमा आवद्ध रहेकी मोक्तानको जन्म २०३६ सालमा भएको हो । मकवानपुरको तत्कालीन पदमपोखरी गाविस हाल हेटौंडा उपमहानगरपालिका–१३ मा बाबु सानुकान्छा मोक्तान र आमा तीर्थमायाको कोखबाट जन्मेकी मोक्तान जनयुद्धको समयमा माओवादीले संचालन गरेको ‘जनसरकार’मा रहेर काम गरेको अनुभव छ ।

मोक्तान २०६४ सालमा मकवानपुरको निर्वाचन क्षेत्र नम्बर–४ बाट माओवादी केन्द्रबाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । २०५० सालबाट राजनीतिमा होमिएकी उनी २०५५ सालमा पार्टीको जिल्ला सदस्य बनिन् । २०५६ मा महिलातर्फको केन्द्रीय सदस्य रहेकी मोक्तान सोही समयमा महिलातर्फको जिल्ला अध्यक्ष पनि थिइन् ।

सशस्त्र द्वन्द्वका क्रममा ०५७ सालमा उनले एक वर्ष जेल जीवन बिताएका थिए । २०५८ मा उनी माओवादीको इलाका इन्चार्ज बनिन् । २०५९ मकवानपुर जिल्ला सचिवको जिम्मेवारी प्राप्त गरेकी उनले २०६० सालमा पार्टीको जनसरोकार प्रमुख, २०६१ मा प्रादेशिक जनसरोकार उपप्रमुख र २०६१ मा क्षेत्रीय ब्युरो सदस्यमाको रुपमा पार्टीमा जिम्मेवारी निर्वाह गरेका थिए ।

२०६२ मा पार्टीको केन्द्रीय सदस्य रहेकी उनी २०६३ मा अन्तरिम विधायिकाको जिम्मेवारी समेत निर्वाह गरिन् । त्यसयता माओवादी पार्टीको केन्द्रीय सदस्य र मकवानपुर इञ्चार्ज रहेकी मोक्तान बागमती प्रदेशमा तत्कालीन नेकपाको सरकारमामन्त्री बन्ने चर्चा चलेको थियो । तर, सो समयमा उनलाई पार्टीले मन्त्रीको जिम्मेवारी दिएन ।

प्रतिक्रिया दिनुहोस्