Logo
Logo

काबुलमा फसेका ३२ नेपालीको उद्धार



नयाँदिल्ली । गैरकानुनी ढंगले अफगानिस्तान पुगेका र पछिल्लो तीन महिनादेखि उद्धारको पर्खाइमा रहेका ३२ नेपालीलाई नेपाल सरकारले काबुलबाट मुक्त गराएको छ ।

तालिवानले सैन्य बल प्रयोग गरेर अफगानिस्तानलाई आफ्नो नियन्त्रणमा लिएदेखि नै उनीहरूको उद्धारका लागि परराष्ट्र मन्त्रालय, दिल्लीस्थित नेपाली दूतावास र अन्य सरकारी एजेन्सीहरू सक्रिय थिए । अफगानिस्तानमा नेपालको कुनै एजेन्सी छैन । भारतस्थित दूतावासले नै अफगानिस्तान हेर्दै आएको छ ।

अफगानिस्तानको राजधानी काबुल । फाइल तस्बिर : रोयटर्स

दिल्लीस्थित कार्यवाहक नेपाली राजदूत रामप्रसाद सुवेदीले महिनौंदेखिको प्रयास सफल भएको बताए । ‘त्यहाँ रहेका ३२ जना नेपाली निक्लिएसँगै अफगानिस्तानबाट उद्धार गर्नुपर्ने मिसन पूरा भएको छ,’ उनले भने, ‘अब हाम्रो जानकारीमा उद्धार गर्नुपर्ने अवस्थाका नेपालीहरू त्यहाँ हुनुहुन्न ।’ भारतका समेत सयौं नागरिक अझै उद्धारको पर्खाइमै छन् ।

चार्टर्ड गरिएको इरानको महान् एयरबाट ३२ जनालाई शुक्रबार साँझ तेहरान पुर्‍याइएको छ । तेहरानबाट दुबई हुँदै उनीहरू शनिबार बिहान काठमाडौं अवतरण हुने सुवेदीले जानकारी दिए । दुबईबाट उनीहरूलाई नेपाल एयरलाइन्सको नियमित फ्लाइटले लग्नेछ ।

गत साता तालिवान अथोरिटीले अन्तिम समयमा रोकेपछि यी ३२ जना विमानस्थलबाट फिर्ता हुनुपरेको थियो । भिसाको म्याद सकिएका कारण उनीहरूलाई बाहिरिनबाट तालिवानी अथोरिटीले रोकेको थियो । आवश्यक जरिवाना बुझाएर तथा ट्राभल डकुमेन्ट पठाएर दूतावास उनीहरूलाई काबुलबाट उद्धार गर्न सफल भएको हो ।, यो समाचार कान्तिपुर दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्