काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले पेट्रोल, ग्यास र डिजेलको मूल्य बढाएर गल्ती गरेको बताएका छन् । जनतालाई राहत दिनेबेला सरकारले उल्टै मूल्यबृद्धि गरेर थप भार बोकाएको बताए ।

शनिबार सुनसरी काटमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा नेता सिंहले भने, ‘चाडपर्वको समयमा राहत दिनुपर्ने ठाउँमा सरकारले मूल्य बढाएर जनतालाई मारमा पारेको छ ।’ आफूले गर्न सक्ने काम नगर्ने र त्यसको क्षतिपूर्तिको लागि मूल्य बढाउने काम गलत भएको बताउँदै उनले मूल्यबृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन् ।
नेता सिंहले १३औं महाधिवेशनपछि नेतृत्व पाएकाहरुले जिम्मेवारी पूरा गर्न नसकेकाले पार्टीमा अहिलेको अवस्था सिर्जना भएको बताए । पटक–पटक जिम्मेवारी पाउँदा पनि पाएको जिम्मेवारी पूरा गर्न नसक्ने नेतालाई पुनः जिम्मेवारी दिए पार्टीको अवस्था अझै बिग्रने उनको भनाइ छ ।
नेता सिंहले भने, ‘अहिले पार्टीको परम्परा नै मिचिएको छ । देश बनाउँछु बनेर अगाडि बढ्ने नेताहरुले आफ्नै पार्टीको अवस्था नाजुक बनाएका छन् ।’ उनले अझैपनि केही जिल्लामा क्रियाशिल सदस्यता विवाद कायम रहेका बताए ।
रौतहट जिल्लाका कार्यकर्ताहरु धर्ना बसेको सय दिन वितिसक्दा पनि नेतृत्व मौन रहेको भन्दै पार्टीको आगामी १४औँ महाधिवेशनलाई कमीकमजोरी सुधार गर्ने मौकाको रुपमा लिनुपर्ने बताए ।














