बम विस्फोट गरेर सडक सञ्चालन गरिँदै « Drishti News – Nepalese News Portal
Logo

बम विस्फोट गरेर सडक सञ्चालन गरिँदै


दृष्टि संवाददाता


तम्घास । कालीगण्डकी करिडोरमा खसेको पहिरो हटाउन नेपाली सेनाले गुल्मीमा बम विस्फोट गरेको छ । करिडोरको रुरु क्षेत्र गाउँपालिका–२ मा पहिरो खसेपछि गत कात्तिक ३ गतेदेखि सडक अवरुद्ध थियो ।

पहिरो र बीचमा ठूला ढुङ्गा अड्किएका कारण नौ दिनदेखि यातायातका साधनको आवतजावत बन्द रहेको थियो । डोजरले वा अन्य उपकरणले मात्रै पहिरो हटाउन नसकिने भएपछि सेनाले शुक्रबारबाट बम विस्फोट गरेर ढुङ्गा फुटाउने काम गरेको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए ।

कालिगण्डकी करिडोरअन्तर्गत गुल्मीको रुरुक्षेत्र गाउँपालिका–२ मा खसेको पहिरो हटाउन नेपाली सेनाले बम विस्फोट गर्दै । तस्वीर ः हुमाकान्त पोखरेल÷रासस

कालीगण्डकी करिडोर सडक निर्माण कार्यदल हर्मिचौर र सग्राम शार्दुल गुल्मका उपसेनानी हिक्मतबहादुर चन्द नेतृत्वको संयुक्त टोलीले पहिरो पन्छाउने काम गरिरहेको पौडेलले जानकारी दिए । नेपाली सेनाले बममार्फत ढुङ्गा नफोरेसम्म अरू कुनै उपाय नभएकाले सेनाका प्रक्रियाका कारण केही समय ढिला भएको उनको भनाइ छ ।

त्यो सडकबाट गुल्मीसहित बागलुङका दैनिक एक डेढ सय बढी सवारी साधन आवतजावत गर्छन् । पहिरोले सडक अवरुद्ध भएपछि बागलुङ बुर्तिबाङसम्मका ठूला गाडी तम्घास भएर गन्तव्यमा पुग्ने गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्