Logo
Logo

चाडपर्वको बेला छालाको स्याहार



चाडपर्वको याम छ । सँगै सबैको व्यस्तता बढेको छ । यस्तो अवस्थामा छालाको स्याहार पुग्दैन । एकातिर चाडपर्वमा ब्यूटी पार्लरहरुमा धेरै भीड हुने भएकाले जान मन लाग्दैन भने अर्कोतिर आँफैसँग पनि धेरै समय लगाएर ब्यूटीपार्लर गई सेवा लिने फुर्सद हुँदैन । यस्तो अवस्थामा घरमै थोरै समय निकालेर छाला तथा कपालको स्याहार गर्न सकिन्छ ।

जस्तोसुकै व्यस्तता भए पनि छालाको स्याहारका लागि थोरै समय निकाल्नुपर्छ । छालाको सफाई तथा संरक्षण सवैभन्दा महत्वपूर्ण हुन्छ । चाडपर्वको समयमा दैनिक हेभी मेकअप गरिन्छ । यदि छाला स्वथ्य भएन भने यसबाट छालामा विभिन्न समस्या आउन सक्छन् ।

कसरी छालालाई स्वस्थ राख्ने ?

क्लिन्जिङः स्वस्थ छालाका लागि सफाइ सवैभन्दा महत्वपूर्ण र पहिलो कदम हो । मेकअप गरेर दिनभर दौडधुप गर्दा वा बाहिर निस्कदा धुलो आदि टाँसिएर छाला फोहोर हुन्छ । त्यसैले अनिवार्य रुपमा छालालाई सुहाउँदो क्लिन्जरले सफा गरेर मात्र सुत्नुपर्छ । यसले छालालाई स्वस्थ राख्न मद्दत गर्छ ।

स्क्रविङः स्क्रवले छालामा भएको मृत कोषिकालाई हटाउँछ । र, नयाँ सेल निर्माणका लागि मद्दत गर्छ । बजारमा पाइने आफ्नो छाला सुहाउँदो स्क्रव हप्तामा एकपटक प्रयोग गर्नुपर्छ । घरमै हुने चामललाई पिसेर पिठो बनाइ केही थोपा कागती र एक चम्चा दही मिसाई अनुहारमा लगाएर हल्का हातले मासिल गर्दा छालामा भएको मृत कोषिका हट्छ । र, छाला स्वस्थ भइ नयाँ कोषिका निर्माणमा मद्दत गर्छ ।

टोनिङः टोनिकले छालालाई टाइट बनाइराख्न मद्दत गर्छ । हरेकपटक क्लिन्जिङपछि टोनर गलाउनुपर्छ । यसले रोमछिद्र बन्द गर्न मद्दत गर्छ भने छालालाई कसिलो बनाउँछ । दिनमा दुईपटक अनुहार सफा गरिसकेपछि टोनर लगाउनुपर्छ ।

सनस्क्रिनः चाडपर्वको समयमा हेभी मेकअप गरेर दैनिक हिड्नुपर्ने हुन्छ । यस्तो बेला एस.पी.एफ. प्रयोग गर्न छोडिन्छ । जसले गर्दा छाला खराब हुन्छ । मेकअप सामग्री प्रयोग गर्दा एस.पी.एफ.युक्त प्रयोग गर्नुपर्छ । जसले घामको अल्ट्रा भायलेट किरणबाट छालालाई बचाउँछ । र, छालाको सुरक्षा गर्छ ।

फेस मास्कः फेस मास्क छालाको लागि धेरै राम्रो हुन्छ । फेसियल गराउन नपाएको अवस्थामा साधारण फेसवास गरेर बजारमा पाइने तयारी मास्क वा पिलअफ मास्क लगाउन सकिन्छ । यसले छालामा ताजगी आउँछ र रोमछिद्र बन्द तथा कसिलो बनाउँछ । यसले तत्काल राम्रो परिणाम दिनुका साथै केही समयका लागि प्रभावकारी रहन्छ ।

घरेलु सामग्रीलाई पनि फेस मास्कको रुपमा प्रयोग गर्न सकिन्छ । छालाको प्रकारअनुसार घरेलु फेस मास्क प्रयोग गर्न सके छाला स्वस्थ्य र चम्किलो हुन्छ । यदि, धेरै सुख्खा छाला छ भने पाकेको केरा पिसेर दही र मह मिसाई अनुहारमा लगाउने र २० मिनेटपछि पखाल्दा नरम, मुलायम र स्वस्थ हुन्छ । त्यस्तै, चाउरीपन तथा लुज छालाको लागि अण्डाको सेतो भाग छुट्याएर दहीसँग मिसाइ अनुहारमा लगाएर राम्रोसँग सुक्न दिने, सुकेपछि पानीले राम्रोसँग धुने । यसले छालामा पोषण प्रदान गर्छ भने चाउरीपन कम गर्छ ।

यदि छाला चिल्लो छ र खटिराहरु छ भने वेसनको पिठोमा केही थोपा कागतीको रस र एक चम्चा मह मिसाएर लगाउँदा राम्रो हुन्छ । यसले डण्डीफोर कम हुन्छ । र, दागहरु पनि कम हुन्छ । तर, छाला शंवेदनशील भए कागती नराखी ग्रीन–टी ओयलको केही थोपा लगाउनुपर्छ । यसले व्याक्टेरियाहरु मार्नुका साथै खटिरा निको हुन्छ ।

मोस्चराइजरः छालाका लागि छुटाउनै नहुने सामग्री मोस्चराइजर हो । सबै मौसममा मोस्चराइजर लगाउनुपर्छ । चाडपर्वमा गरिने हेभी मेकअपको कारण छालालाई रिपेयर गर्नका लागि पनि नाइट क्रिम सिरम तथा छाला सुहाउँदो मोस्चराइजर लगाउनुपर्छ । यसले छालाको प्राकृतिक मोइचरलाई पनि व्यवस्थित गर्ने काम गर्दछ ।

– चाडपर्वको बेला कुनै पनि नयाँ सौन्दर्य सामग्री एक्सपेरिमेन्ट गर्नु हुँदैन । कुनै सामग्रीले एलर्जी हुनसक्छ । र, निको हुन समय लाग्छ । छालाको उपचार गराउँदा पनि केमिकलहरु प्रयोग नगर्दा राम्रो हुन्छ ।

– चाडपर्वमा दैनिक मेकअप गरिन्छ । फउण्डेसन तथा कन्सिलर लगायतका सामग्री राम्रो ब्राण्डको हुनुपर्छ । आखाँका लागि प्रयोग गरिने सामग्री पनि गुणस्तरयुक्त हुनुपर्छ । नत्र आँखालाई असर गर्नसक्छ । चाडपर्वमा भेटघाट गर्न जाँदा साधारण मेकअप गर्नु राम्रो हुन्छ । यसले स्मार्ट लुक दिन्छ । त्यसैगरी कपाललाई मिडियम लेन्थको आइरन गरेर छोड्न सकिन्छ भने लङ हेयरका लागि सिम्पल जुडो बनाउँदा राम्रो हुन्छ ।

स्वास्थ्यमा समस्या आएपछि उपचार गर्नेभन्दा पनि समस्या आउन नदिनु नै उत्तम हो । त्यसैले व्यस्तता समयमा पनि थोरै समय स्वास्थ्यको हेरचाहमा छुट्याउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्