Logo
Logo

छड र सिमेन्टको भाउ बढ्यो



काठमाडौं । पूर्वाधार निर्माणको सिजन शुरू हुनै लाग्दा फलामजन्य निर्माण सामग्री र सिमेन्टको भाउ बढेको छ । दशैं, तिहार तथा छठजस्ता पर्वपछि नेपालमा पूर्वाधार निर्माणको सिजन भनिँदै आएको छ । यही सिजन शुरू हुनै लाग्दा र अन्तरराष्ट्रिय बजारमा कोइलाको मूल्यमा वृद्धि हुँदा निर्माण सामग्री र सिमेन्टको मूल्यमा वृद्धि देखिएको हो ।

अहिले फलामे छडको मूल्य रू. ६ देखि रू. १० सम्म वृद्धि भएको छ भने सिमेन्टको मूल्यमा २० प्रतिशतले वृद्धि हुने देखिएको छ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले पूर्वाधार निर्माणको सिजन शुरू हुने बेलामा नै फलामजन्य निर्माण सामग्रीको मूल्य वृद्धिले मारमा पर्ने बताए । सरकारले ल्याएको स्पन्ज आइरन र बिलेट आयातका सम्बन्धमा ल्याएको नीतिले फलामजन्य सामग्रीको मूल्य घट्ने आकलन गरिए पनि यसको मूल्य बढेको उनले बताए ।

‘फलामे छडदेखि अन्य निर्माण सामग्रीको मूल्यमा प्रतिकेजी रू.४ देखि रू. ५ सम्म कमी आउने अपेक्षा थियो,’ सिंहले भने, ‘प्रतिस्थापन विधेयक आउनुअघि स्पन्ज आइरनबाट बनेको डन्डी खरीद गर्दा प्रतिकेजी रू. ७९ र प्राइम बिलेटबाट बनेको डन्डी प्रतिकेजी रू. ८३ मूल्य तिर्नुपर्थ्यो ।’ रोलिङ मिल्सहरूमा प्रतिस्पर्धा हुन नसकेको र उत्पादन नै रोक्न थाल्दा मूल्यमा कार्टेलिङ भएको उनको भनाइ छ । उनका अनुसार अहिले फलामे छड किन्दा प्रतिकेजी रू. १०२ देखि रू। १०६ सम्म तिर्नु परेको छ ।, यो समाचार आर्थिक अभियान दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्