Logo
Logo

भोलिदेखि कर्णालीका तीन मन्त्री पदमुक्त हुँदै, को–को बन्लान् नयाँ मन्त्री ?



काठमाडौँ । कर्णाली प्रदेश सरकारका तीन मन्त्री भोलिदेखि स्वतः पदमुक्त हुँदैछन् । भोलिदेखि पदावधि सकिने मन्त्रीहरुमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री अम्मरबहादुर थापा, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा छन् ।

नेकपा एकीकृत समाजवादी पार्टीका यी तीनै जना मन्त्रीहरु प्रदेशसभा सदस्य होइनन् । भौतिक पूर्वाधार प्रदेशसभा सदस्य नरहेको व्यक्ति बढीमा ६ महिनासम्म मात्र मन्त्री हुन पाउने भएकाले उनीहरु तीनै जनाको पदावधि सकिन लागेको हो ।

गत वैशाख ३ मा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई ‘फ्लोर क्रस’ गरेर विश्वासको मत दिएपछि थापा, शाही र बुढालाई सरकारमा सामेल गरिएको थियो । उनीहरुलाई एमालेले कारवाही गरिसकेका कारण प्रदेशसभा सदस्य पद गुमाएका हुन् ।

मन्त्री थापा नेकपा एकीकृत समाजवादीको प्रदेश अध्यक्षको जिम्मेवारीमा पनि छन् ।

अब को–को मन्त्री बन्लान् ?

भोलि स्वतः पदमुक्त हुने उनीहरुको ठाउँमा कसलाई मन्त्री बनाउने भन्नेबारे औपचारिक धारणा बाहिर आइसकेको छैन ।​ सोबारे छलफल गर्न आइतबार कर्णालीमा नेकपा एकीकृत समाजवादी पार्टीको बैठक बसेको छ ।

तीन जना मन्त्रीको बर्हिगमनसँगै उक्त ठाउँमा कसलाई ल्याउने हो भन्ने बारेमा छलफल भइरहेको छ । प्रदेशसभामा नेकपा एकीकृत समाजवादीका ३ जनामात्र सांसद छन् । सम्भवतः उनीहरूलाई नै मन्त्री बनाउने चर्चा पनि छ ।

आइतबार यसबारे छलफल गर्न बसेको नेकपा एकीकृत समाजवादी पार्टीको बैठकमा तीन जना प्रदेशसभा सदस्यलाई नै सरकारमा पठाउनेबारे चर्चासमेत चलेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्