Logo
Logo

विश्वासको मत प्रस्तावको विपक्षमा मतदान गर्ने विपक्षीको निर्णय



मोरङ । प्रदेश १ को विपक्षी गठबन्धनले सोमबार प्रदेशसभामा हुने विश्वासको मतसम्बन्धी मत विभाजनमा मुख्यमन्त्री भीम आचार्यको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

गठबन्धनले नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईलाई भावी मुख्यमन्त्रीका रुपमा प्रस्ताव गर्ने निर्णय गर्दै विश्वासको मतसम्बन्धी मत विभाजनमा मुख्यमन्त्री आचार्यको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मन्चका नेता सम्मिलित गठबन्धनको बैठक आइतबार विराटनगरमा बसेको थियो ।

बैठकपछि नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता इन्द्र आङ्बेले भने– ‘भोलि भीम आचार्य नेतृत्वको सरकारलाई एकमतका साथ बिदा गर्ने र राजेन्द्र राईलाई नयाँ मुख्यमन्त्रीमा प्रस्ताव गर्ने हाम्रो गठबन्धनको निर्णय भएको छ ।’

प्रदेशसभामा सत्तारुढ एमाले प्रष्ट अल्पमतमा छ भने विपक्षी गठबन्धन आरामदायी बहुमतको अवस्थामा छ । ९२ सदस्यीय प्रदेशसभामा बहुमतको लागि ४७ मत आवश्यक पर्नेमा आचार्यले ३९ मत मात्र पाउनेछन् । प्रदेशसभामा एमालेका ४१ सांसद रहेपनि सभामुख प्रदिपकुमार भण्डारीले निर्णायक मत मात्र दिन पाउने र सांसद गुलेफुन मियाँ फरार छन् ।

विपक्षी गठनबन्धनले ५० मतसहित नयाँ सरकार गठन गर्न देखिन्छ । गठबन्धनमा आवद्ध दल नेपाली काँग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्