एकीकृत समाजवादी खोटाङका इन्चार्जमा चाम्लिङ र अध्यक्षमा राई « Drishti News – Nepalese News Portal
Logo

एकीकृत समाजवादी खोटाङका इन्चार्जमा चाम्लिङ र अध्यक्षमा राई


दृष्टि संवाददाता


खोटाङ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) खोटाङको जिम्मेवारी हेरफेर तथा पालिकास्तरीय इन्चार्ज र सहइन्चार्ज तोकिएको छ ।

यही कात्तिक १२ र १३ गते बसेको सो पार्टीको दोस्रो पूर्ण बैठकले जिल्ला कार्यसमितिको जिम्मेवारी हेरफेर तथा पालिकास्तरीय इन्चार्ज र सहइन्चार्ज एवं जनवर्गीय सङ्गठन निर्माण गरेको हो ।

जिल्ला अध्यक्षको जिम्मेवारी तत्कालीन सचिव जलशेर राईलाई दिइएको छ । तत्कालीन जिल्ला अध्यक्ष बबि चाम्लिङलाई पार्टीले केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्जको जिम्मेवारी दिएपछि उनले अध्यक्षको जिम्मेवारी सचिव राईलाई हस्तान्तरण गरेका हुन् ।

पचपन्न सदस्यीय जिल्ला कार्यसमितिको उपाध्यक्षमा बमबहादुर खत्री, अकिलकुमार राई र नरेशकुमार राई, सचिवमा राजन आचार्य, उपसचिवमा मनिषा राई, किशोर आचार्य, कृष्णचन्द्र श्रेष्ठ, माइतीराज राई र सुमन राई तथा कोषाध्यक्षमा एन्टी शेर्पा चयन भएका छन् । जिल्ला कार्यसमितिको बैठकले २३ सदस्यीय सचिवालय समितिसमेत चयन गरेको जनाइएको छ ।

बैठकले जिल्लाका दशवटै स्थानीय तहमा इन्चार्ज र सहइन्चार्ज तोकिएको जिल्ला सचिव राजन आचार्यले जानकारी दिए । उनका अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको इन्चार्जमा शुभचन्द्र राई, सहइन्चार्ज शम्भु घिमिरे तथा हलेसी तुवाचुङ नगरपालिकाको इन्चार्जमा अकिल राई र सहइन्चार्जमा विष्णु दाहाललाई जिम्मेवारी दिइएको छ ।

यसैगरी बराहपोखरी गाउँपालिकाको इन्चार्जमा भुवल राई, सहइन्चार्जमा बम दाहाल, जन्तेढुङ्गा गाउँपालिकाको इन्चार्जमा सुमन राई, सहइन्चार्जमा जसपाल राई, खोटेहाङ गाउँपालिकाको इन्चार्जमा मिलन श्रेष्ठ, सहइन्चार्ज अर्जुन गौरापिप्ली, दिप्रुङ चुइचुम्मा गाउँपालिकाको इन्चार्ज नरेशकुमार राई, सहइन्चार्ज पेशल गुरागाइँ साकेला गाउँपालिकाको इन्चार्जमा फूलकुमार राई र सहइन्चार्जमा शिवेन्द्रकुमार राई चयन भएका छन् ।

यस्तै ऐसेलुखर्क गाउँपालिकाको इन्चार्जमा कृष्ण श्रेष्ठ, सहइन्चार्ज पर्शु राई, केपिलासगढी गाउँपालिकाको इन्चार्जमा माइतीराज राई र सहइन्चार्जमा पवन श्रेष्ठ तथा रावाबेँसी गाउँपालिकाको इन्चार्जमा ईश्वर श्रेष्ठ र पछि राख्ने गरी सहइन्चार्ज खाली राखिएको पत्रकार सम्मेलनमा जनाइएको छ । पार्टीले १८ वटा विभागीय प्रमुख, उपप्रमुख पनि तोकेको जनाइएको छ ।

पार्टी विभाजनपछि नेकपा (एमाले)मा हुँदा जोडेका सम्पत्तिका बारेमा तपाईँहरुको दाबी रहन्छ कि रहन्न ? भन्ने पत्रकारको प्रश्नमा आफूहरु केन्द्रीय समितिको निर्णय आएपछि मात्र बोल्ने जिल्ला इन्चार्ज चाम्लिङले जानकारी दिए । “एमालेको नाममा भएको सम्पत्तिमा हाम्रो पनि हक लाग्छ”, उनले भने, “केन्द्रीय समितिले निर्णय गरेको छैन । निर्णय आएपछि जिल्लामा पनि छलफल हुन्छ ।”

राप्रपा खोटाङको अध्यक्षमा ललितकुमार
राष्ट्रिय प्रजातन्त्र पार्टी खोटाङको जिल्ला अध्यक्षमा ललितकुमार राई ‘जीवन’ चयन भएका छन् । विसं २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङको निर्वाचित वडाध्यक्ष बनेका उनी राप्रपाको आइतबार सम्पन्न प्रथम अधिवेशनबाट जिल्ला अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

विसं २०३७ देखिे गाउँ कार्यसमिति सदस्य हुँदै जिल्ला युवा सङ्घको अध्यक्ष भएका उनी २०५४ मा पार्टी विभाजनहुँदा जिल्ला सहसचिव, राप्रपा जनशक्ति र राप्रपा एकता हुँदा सर्वसम्मत जिल्ला अध्यक्ष बन्नुभएको थियो । राप्रपा नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी एकता भएपछि जिल्ला सहअध्यक्ष, प्रदेश नं १ को सहसचिव र त्यसपछि पुनः पार्टी फुटेपछि जिल्ला अध्यक्ष बनेका थियो ।

राप्रपा नेपाल र राप्रपाबीच पुनः पार्टी एकता भएपछि आयोजित प्रथम जिल्ला अधिवेशनले राईको अध्यक्षतामा ६५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । जिल्ला कार्यसमितिका अन्य पदाधिकारी भने पहिलो बैठकले चयन गर्ने जनाइएको छ । एकैसाथ आयोजना गरिएको क्षेत्र तथा जिल्ला अधिवेशनले क्षेत्र नं ‘क’ को अध्यक्षमा रामचन्द्र भट्टराई र क्षेत्र नं ‘ख’ को अध्यक्षमा विनोद बस्नेतलाई चयन गरेको छ । दुवै क्षेत्रमा ७७÷७७ सदस्यीय क्षेत्रीय समिति गठन गरिएको नवनिर्वाचत जिल्ला अध्यक्ष राईले जानकारी दिए ।

यस्तै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नगर अध्यक्षमा चन्द्रकुमारी राई (तारा) चयन भएको जनाइएको छ । पन्ध्र वडा रहेको यस नगरपालिकामा ९५ सदस्यीय समिति गठन गरिएको पार्टीले जनाएको छ ।

क्षेत्रको अन्य पदाधिकारी क्षेत्रले र नगरको अन्य पदाधिकरी नगरले छान्ने राप्रपाका केन्द्रीय कार्यसम्पादन समिति सदस्य रविन चाम्लिङले बताए । जिल्लामा आमसभासहित उद्घाटन गरिएको अधिवेशनको अवसर पारेर पार्टीले दिक्तेलबजारमा ¥यालीसमेत निकालेको थियो ।

प्रतिक्रिया दिनुहोस्