
काठमाडौं । प्रदेश १ मा आज मुख्यमन्त्री भीम आचार्यको विश्वासको मतमाथिको मतदान हुँदैछ । नेकपा एमालेबाट मुख्यमन्त्री बनेका आचार्यको आज विश्वासको मत लिने प्रस्तावमाथि मतदान हुने कार्यसूची छ ।
यसअघि नेपाली काँग्रेसले मुख्यमन्त्रीमा आलोपालो हुनुपर्ने माग गरेपछि कात्तिक ७ गतेको लागि तय भएको मतदानको कार्यसूची कात्तिक १५ गतेका लागि सारिएको थियो ।
हिजो (आइतबार) बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चको बैठकले गठबन्धनका तर्फबाट मुख्यमन्त्रीमा भोजपुर नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राईलाई अगाडि सार्ने निर्णय समेत गरेको हो । जस्को सम्पुर्ण तयारी पुरा भएको गठबन्धनले जनाएको छ ।
गत सातानै सांसद शेखर कोइरालासहितका काँग्रेसका केहि नेताले प्रदेशमा काँग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने अडान राखेपछि काँग्रेसले अघिल्लो साताको लागि तय भएको मुख्यमन्त्रीले विश्वासको मत लिने बैठक नै स्थगित गर्न निवेदन दिएको थियो ।
काँग्रेसको निवेदनपछि सत्तारुढ नेकपा एमालेले पनि प्रदेशसभाको बैठक कात्तिक १५ गतेसम्म सार्न निवेदन दिएकोमा सभामुख प्रदिपकुमार भण्डारीले त्यसलाई सदर गर्दै बैठक स्थगित गरेका थिए । सत्तारुढ गठबन्धनमा काँग्रेसले गरेको आधाआधा नेतृत्वको दावीलाई गठबन्धनको केन्द्रमा जानकारी गराउने सहमति भएको छ ।
प्रदेशसभामा सत्तारुढ नेकपा एमालेको बहुमत नरहेकोले मुख्यमन्त्री आचार्यले सोमबार विश्वासको मत नपाउने करिब निश्चित छ । त्यसपछि प्रदेश प्रमुखले दुई वा दुई भन्दा बढि दलको सरकार बनाउने आह्वान गर्नेछन् ।
नेपाली काँग्रेस संसदीय दलका सचेतक केदार कार्कीले गठबन्धनले केन्द्रीय तहबाटै प्रदेश १ मा समाजवादीको नेतृत्वमो सरकार बनाउने सहमति यसअघि नै गरिसकेको बताए ।
गठबन्धन बैठकले मन्त्रालय भागबण्डा र काङ्ग्रेसले दाबी गर्दै आएको आधा कार्यकालका विषयमा मुख्यमन्त्री नियुक्तिपछि छलफल गर्ने निर्णय गरेको नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताए ।
एमालेबाट मुख्यमन्त्री बनेका आचार्यले एमाले विभाजित भएर नेकपा एकीकृत समाजवादी निर्माण भएसँगै प्रदेशसभामा बहुमत गुमाएका थिए । भदौ १० गते मुख्यमन्त्रीमा नियुक्ति भएका आचार्यले ६९ दिनपछि आज विश्वासको मत लिने भएका हुन् ।
यस्तो छ प्रदेश १ का संसदीय अंकगणित
९२ प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा नेकपा एमालेसँग ४१ सांसद छन् । सभामुख र एक जना फरार अभियुक्त रहेकोले मुख्यमन्त्री आचार्यको पक्षमा ३९ मत मात्र प्राप्त हुने अवस्था छ । प्रदेशसभामा बहुमतका लगि ४७ सांसदको समर्थन आवश्यक पर्छ । विपक्षी गठबन्धनसँग ५० जना सांसद छन् ।
गठबन्धनमा रहेको काङ्ग्रेसँग २१, माओवादी केन्द्रसँग १५, नेकपा एकीकृत समाजवादीसँग १०, जसपासँग ३ र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चसँग एक जना सांसद छन् । एक जना सांसद रहेको राप्रपा दुवै पक्षमा खुलेको छैन ।










