Logo
Logo

‘रसिलो भैँसी खोज्न चित्रे धुल्लु जानू !’



बलेवा । दुई वर्षअघिसम्म घरमा भएको दूध मोही बनाएपछि मलखादमा फाल्ने भीमनाथ शर्माले अहिले दूधको बिक्रीबाट घर खर्च चलाउने आम्दानी गर्छन् । बागलुङको बरेङ गाउँपालिका–१ धुल्लुबास्कोटमा रहेको उनको गोठमा बाँधिएका दुई दुहुना भैँसी उनका आम्दानीका स्रोत हुन् ।

दूधको बिक्रीबाट भएको आम्दानीले भीमनाथ र उनको गाउँका किसान उत्साहित छन् । दक्षिण बागलुङमा भनाइ छ, ‘रसिलो भैँसी खोज्न चित्रे धुल्लु जानू !’ धुल्लुबास्कोटका धेरै किसानले रसिलो अर्थात् धेरै दूध दिने भैँसी पाल्छन् । वन तथा चरन क्षेत्र राम्रो रहेकाले यहाँ पाडापाडी हुर्काउने चलन पनि छ । यहाँका किसानको मुख्य आम्दानीको स्रोत नै दूध, पाडापाडी र मकैबाली हो ।

उनीजस्तै धुल्लुबास्कोटका धेरै किसानले दही मथेपछि मोही मलखादमै मिलाउँथे । अहिले धेरैको दैनिकी फेरिएको छ । गत असारको १ गते यहाँका किसानले उत्पादन गरेको दूध कुश्माबाजरबाट पातीचौरसम्म पुग्यो । असार १ गतेको बाढीपहिराका कारण सडक बन्द भएपछि अहिले यहाँका किसानले गाउँमै दूध बिक्री गर्छन् ।

फोटो स्केच : साभार नेपाल म्याग्जीनबाट

‘यहाँबाट एक क्यान दूध पातीचौरसम्म पु¥याइयो, असारयता बन्द छ’, लिउँवा समाज सुधार कृषि तथा पशुपालन समूहका अध्यक्षसमेत रहेका शर्माले भने, ‘अब हाम्रो योजना पोखरा दूध पठाउने हो ।’ एक क्यान दूधमा ४० लिटरमात्रै जान्छ । ढुवानी धेरै लाग्ने भएकाले दूधको मात्रा बढाएर बिक्रीका लागि समूहले पहल थालेको छ । पोखरामा दूध पाउडर बनाउने एक कम्पनीसँग समूहले कुराकानी गरिरहेको भन्दै शर्माले सिधा पोखरा पठाउँदा दूधको मूल्य थप पाइने आशा व्यक्त गरे ।

जैमिनी नगरपालिकाको कुश्मीशेरामा रहेको दुग्ध उत्पादक सहकारीसँग समन्वय गरेर यहाँको दूध बजार जाने गरेको थियो । किसानबीचको समन्वयले दुर्गमको दूध बजारीकरणमा सहज भएको शर्माले बताउनुभयो । कृषि उत्पादन कम हुने बरेङमा पशुजन्य उत्पादन निर्यातका लागि योग्य उत्पादन हुन् ।

‘हामी गुजारामुखी व्यवसायमा थियौँ, अहिले दूधमा आत्मनिर्भर भएर निर्यात हुन थालेको छ’ गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले भने, ‘यो गाउँपालिकाका लागि खुशीको कुरा हो । हाम्रो कार्यकालको महत्वपूर्ण उपलब्धि पनि ।’ स्थानीय बजारमा समेत दूधको खुलेर बिक्री वितरण हुने वातावरण पछिल्लो दुईवर्ष यतामात्रै भएको हो । सडकलगायतका कारण निर्यात हुन नसकेको समयमा समेत यहाँका किसानको दूध स्थानीय बजारमा बिक्री भइरहेको छ ।

किसानलाई गाउँपालिकाले सहयोग गरेको छ । दूधको बजारीकरणमा समेत गाउँपालिका किसानको साथमा रहने अध्यक्ष शर्माले बताए । ‘हामीले कार्यक्रम बनाउँदा होस् वा बजेट विनियोजन गर्दा किसान प्राथमिकतामा रहे’ उनले भने, ‘रोजगारीसमेत सिर्जना हुने गरी काम गरेका समूहलाई सघाइरहेका छौँ ।’ किसानलाई तालिम, औषधि, गोठसुधार र नश्ल सुधारलगायतका कार्यक्रममा गाउँपालिकाले सघाउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्