Logo
Logo

नेपाल-भारतमैत्री बससेवा पुनः सञ्चालनमा



राँझा । कोरोना महामारीका कारण प्रभावित हुँदै आएको नेपाल–भारतमैत्री बससेवा दुई वर्षपछि पुनः सञ्चालनमा आएको छ । नेपालगञ्जस्थित भेरी यातायात प्रालिले यहाँबाट भारतको राजधानी दिल्ली, उत्तर प्रदेशको राजधानी लखनऊ, देहरादुन र हरिद्वारका लागि नेपाल–भारत यात्रुमैत्री बससेवा सञ्चालन गर्दै आएको थियो ।

कोरोनाको त्रास कम भएसँगै सीमानाकामा दुवै देशबाट सवारी यातायात आवागमन अनुमति भएकाले आइतबारदेखि नेपाल–भारत यात्रुमैत्री बससेवा पुनः सुरु गरिएको भेरी यातायात प्रालिका अध्यक्ष राजेन्द्र गिरीले जानकारी दिए ।

उनका अनुसार कोरोना भाइरस महामारीले गर्दा दुई वर्षदेखि मैत्री बससेवा बन्द गर्नुपरेको थियो । बससेवा बन्द हुँदा व्यवसायीलाई ठूलो आर्थिक नोक्सानी हुनुका साथै यात्रुले समेत सास्ती व्यहोर्नुपरेको थियो ।

लामो समयदेखि रोकिएको बस सेवा पुनः सञ्चालन भएपछि भारतको राजधानी दिल्ली, उत्तर प्रदेशको राजधानी लखनऊ, देहरादुन र हरिद्वार जाने नेपालीलाई सहज हुने भएको छ । सीधा यातायात सेवा सञ्चालन नहुँदा कामको खोजीमा भारत जाने र भारतबाट घर फर्किने नेपालीहरु धेरै ठाउँमा ठगिने गरेका थिए ।

बससेवा सञ्चालन भएपछि अब सीमावर्ती भारतीय बजार रुपैडिहालगायतका भारतीय सहरमा भारतबाट घर फर्किने नेपाली लुटिने तथा ठगिने घटना रोकिने होटल व्यवसायी महासङ्घ बाँकेका अध्यक्ष भीम कँडेलले जानकारी दिए ।

मैत्री बस सञ्चालन भएपछि भारतका विभिन्न सहरमा यात्रा गर्नेलाई सुरक्षित र सहज यात्रा गर्ने अवसर मिलेको उनका भनाइ छ । रोकिएको मैत्री बससेवा सुरु भएपछि भारतबाट फर्किने नेपालीहरू सीधा नेपालगञ्ज आउने भएकाले यहाँका होटल तथा व्यापार व्यवसायमा समेत प्रत्यक्षरूपमा फाइदा पुग्ने उनले बताए ।

नेपालगञ्जबाट भारतको लखनऊ स्वास्थ्योपचारका लागि दैनिकजसो ठूलो सङ्ख्यामा नेपाली नागरिक जाने गरेका छन् । त्यसलाई लक्षित गरेर हरेक दिन बिहान ८ बजे नेपालगञ्जबाट बस छुट्ने र लखनऊबाट नेपालगञ्जका लागि राति ८ बजे बस छुट्ने व्यवस्था मिलाइएको भेरी यातायात प्रालिका अध्यक्ष गिरीले जानकारी दिए ।

उनका अनुसार दिल्लीका लागि नेपालगञ्जबाट साँझ ५ बजे र दिल्लीबाट नेपालगञ्जका लागि पनि साँझ ५ बजे तथा देहरादुन र हरिद्वारका लागि नेपालगञ्जबाट राति ८ बजे बस छुट्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्