Logo
Logo

कर्णाली प्रदेशका तीन मन्त्री पदमुक्त हुँदै



काठमाडौं । कर्णाली प्रदेशमा आज तीन जना मन्त्री पदमुक्त हुँदै छन् । भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री अम्मरबहादुर थापा, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाही र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा आज स्वतः पदमुक्त हुने भएका हुन् ।

प्रदेशसभा सदस्य नरहेको व्यक्ति ६ महीनाभन्दा बढी मन्त्री बन्न नपाइने संवैधानिक कानूनी व्यवस्था अनुसार तीनै जनाको पदावधि आज सकिएको हो ।

यी तिनै जना मन्त्री सरकारमा जानुअघि नेकपा एमालेका सांसद थिए । तर गत वैशाख ३ गते ‘फ्लोर क्रस’ गरेर विपक्षी माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई विश्वासको मत दिएका थिए ।

त्यसलगत्तै मुखयमन्त्री महेन्द्रबहादुर शाहीले वैशाख ४ गते तीन जनालाई मन्त्री नियुक्त गरेका थिए । पछि एमालेले कारबाही गरेपछि उनीहरूले सांसद पद गुमाएका हुन् ।

आफ्नो पार्टीका तीन मन्त्री पदमुक्त भएसँगै सो ठाउँमा आफ्नै पार्टीका तीन जनालाई पठाउने एकीकृत समाजवादी कर्णाली प्रदेशले निर्णय गरेको छ ।

आइतबार बसेको प्रदेश कमिटीको बैठकले सो निर्णय गरेको हो । तीन जना मन्त्री पदमुक्त भएपछि उक्त ठाउँमा कसलाई ल्याउने हो भन्ने बारेमा छलफल भइरहेको छ । प्रदेशसभामा नेकपा एकीकृत समाजवादीका तीन जना मात्र सांसद छन् ।

आइतबार यसबारे छलफल गर्न बसेको एकीकृत समाजवादी पार्टीको बैठकमा तीन जना प्रदेशसभा सदस्यलाई नै सरकारमा पठाउनेबारे छलफल चलेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्