Logo
Logo

एकीकृत समाजवादीले सुदूरपश्चिममा खोज्यो सत्तासाझेदारी



काठमाडौं । नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशमा पनि सत्तासाझेदारी खोजेको छ । भर्खरै बागमती प्रदेशमा सरकार गठन गरेको एकीकृत समाजवादीले मंगलबार प्रदेश १ मा सरकार गठन गर्दैछ । सँगै सुदूरपश्चिम प्रदेशमा पनि साझेदारी खोजेको हो ।

एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेशले सोमबार पत्रकार सम्मेलन गरी अन्य प्रदेशहरुमा जस्तै सुदूरपश्चिममा पनि आलोपालोको आधारमा आफ्नो पार्टीले सरकारको नेतृत्व गर्न पाउनुपर्ने माग गरेको हो ।

एकीकृत समाजवादी पार्टीको सुदूरपश्चिम प्रदेश संसदीय दलका प्रवक्ता दुर्गा विकले गठबन्धन नतोड्ने तर सरकारको नेतृत्व आफूहरुले पाउनुपर्ने माग गरेको जानकारी दिइन् । उनले नेकपा एकीकृत समाजवादीले प्रदेश कमिटीका पदाधिकारीहरुको कार्यविभाजन समेत गरेको बताइन् ।

कार्यविभाजन अनुसार शेरबहादुर कुँवरलाई संगठन विभाग प्रमुख, हर्कबहादुर सिंहलाई पार्टी स्कुल विभाग प्रमुख, दिनेशचन्द्र सुवेदीलाई प्रदेश कार्यालय व्यवस्थापन प्रमुख, दीर्घ सोडारीलाई कोष तथा आर्थिक व्यवस्था विभाग प्रमुख, तारा लामा तामाङलाई प्रचार तथा प्रकाशन विभाग प्रमुख र माया भट्टलाई महिला फाँट प्रमुखको जिम्मेवारी दिइएको छ ।

उनले मंसिर ३ गते धनगढीमा प्रदेशस्तरीय पार्टी कार्यकर्ता भेला आयोजना गर्ने निर्णय भएको जानकारी दिए । पार्टी सदस्यता वितरण तथा नवीकरण गर्ने लगायत पार्टीका विभिन्न कार्यक्रमसमेत तय भएको उनले बताए ।

कार्तिक २० गतेभित्र जिल्ला कमिटी गठन, पुनर्गठन र विस्तार गरिसक्ने निर्णय गरिएको प्रदेश इन्चार्ज गरिमा शाहले बताए । उनले पार्टीको नगर तथा गाउँ कमिटी गठन कार्तिक मसान्तसम्म गरिसक्ने निर्णय भएको बताए ।

सो पार्टीका प्रदेश सचिव दिनेशचन्द्र सुवेदीले लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायत कैलाली र कञ्चनपुरको सीमा क्षेत्रमा भारतीय पक्षले अनावश्यक रुपमा सिर्जना गरेको विवाद उच्च कुटनीतिक पहलबाट राष्ट्रहितमा समाधान गर्न सरकारसँग माग गर्ने निर्णय गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्