Logo
Logo

ढाकाटोपी पारखीको चहलपहल



काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिँदा ढाकाटोपी किन्नेको चहलपहल बढ्दै गएको छ । तिहारमा ढाकाटोपी लगाइदिँदा माइतीको मानप्रतिष्ठा बढ्छ भन्ने मान्यताले हरेक चेलीले आफ्ना दाजुभाइलाई उपहारका रूपमा स्नेहपूर्वक ढाकाटोपी दिने प्रचलन छ ।

यसले गर्दा ढाकाटोपी खरिद गर्नेहरू बढेको व्यापारीहरू बताउँछन् । विगत २५ वर्षदेखि ढाकाटोपीको व्यापार गर्दै आएका लक्ष्मी श्रेष्ठले तिहारमा दाजुभाइको शिरमा ढाकाटोपी आवश्यक पर्ने भएकाले सबैको रोजाइमा परेको जानकारी दिनुभयो ।

गलामा सयपत्री र मखमलीको माला, निधारमा सप्तरङ्गी टीका र शिरमा ढाकाटोपीले हरेक दाजुभाइ भाइटीकाका दिन सजिने गर्छन् । तिहारमा ढाका टोपी लगाउँदा माइतीको मानप्रतिष्ठा बढ्छ भन्ने विश्वासले हरेक चेलीले आफ्ना दाजुभाइलाई ढाकाटोपी उपहार दिने प्रचलन छ । उहाँका अनुसार भाइटीकाका दिन माइतीको टाउको खाली राख्नु हुँदैन भन्ने मान्यता छ । ढाकाटोपी नेपाली समाजको पहिचान हो । यसलाई हाम्रो आस्थाको प्रतीकसमेत मानिन्छ ।

अर्का व्यापारी सुरेश नगरकोटीले तिहारलाई लक्षित गरेर ढाकाटोपी बिक्री गरिरहनुभएको छ । तिहारमा धेरै माग हुने भएकाले यस पर्वलाई लक्षित गरेर उहाँ सामान मगाउनुहुन्छ । नगरकोटीले ढाकाटोपी १५० देखि पाँच हजार रुपियाँसम्मको रहेको जानकारी दिँदै पाँच सयदेखि दुई हजार रुपियाँका टोपी बढी बिक्री हुने बताउनुभयो । विवाहका लागि अर्डरबमोजिम बनाइने टोपीको मूल्य धेरै हुने उहाँले बताउनुभयो ।, यो समाचार गोरखापत्र दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्