पनौती मकर मेलामा मुक्तिनाथ दर्शन « Drishti News – Nepalese News Portal
Logo

पनौती मकर मेलामा मुक्तिनाथ दर्शन


बुद्धकुमार श्रेष्ठ


पनौती । काभ्रेको पनौती नगर धार्मिक तथा ऐतिहासिक सहरमा बाह्र बर्से पनौती मकर मेला यसै वर्ष माघ महिनामा लाग्दैछ । धार्मिक सम्पदा भरि पूर्ण पनौती नगर हिन्दु धर्मालम्बीहरुका लागी उर्गम तीर्थस्थल हो । ऐतिहासिक, धार्मिक/सांस्कृतिक तथा पुरातात्त्विक नगर पनौतीमा तयारी स्वरूप धमाधम भौतिक पूर्वाधार निर्माणका काम भइरहेका छन् ।

मकर मेलालाई लक्षित गरी पनौती नगर पालीकाले वर्ष दिन अघि देखि नै मेलाको तयारी स्वरूप पनौतीको विभिन्न मठ मन्दिर जीर्ण उदार देखी नगरको भौतिक पूर्वाधार काम थालेको छ । मुख्य रूपमा मेला लाग्ने त्रिवेणी घाटमा स्नान गर्नको लागी प्रदूषण मुक्त स्नान तलाउको लागी पुण्यवती खोला ढल निकासलाई अन्डर ग्राउन्ड छुट्टै पाइप लाइन विकास गरिएको छ ।

सोही खोलामा कोरिडोर बाटो निर्माण देखी ब्रिज पुलको निर्माण गरिएको छ । यस पटक मकर मेलामा आगन्तुक तिर्थयात्रुहरुले विशेष आकर्षकको रूपमा पनौतीको दधि चोक डाँडामा धातुबाट निर्मित शोभायमान गणेशको मूर्ति दर्शन गर्न सकिने छन् भने पनौती नगर सुब्बा गाउँमा निर्मित आधुनिक मुक्तिनाथ मन्दिरको दर्शन पनि गर्न सकिने छ । सुन्दर आकर्षक मुक्तिनाथको मन्दिर यही असोज २५ गतेबाट शुभारम्भ गरिएको छ । स्वामी कमलनयनाचार्य बाट प्राण प्रतिस्था गरिएको मुक्तिनाथ बिधीबत स्थापना गरिएको यो दोस्रो मन्दिर हो । माघ महिनामा मेला भर्न आउने तीर्थ यात्रीहरूले जाडो याममा एक सय आठ धाराको स्नानले मुक्तिनाथ दर्शनको आभास पाउन सक्ने छन् ।

यसै वर्ष २०७८ माघ महिनाभर बाह्र वर्षे मकर सङ्क्रान्तिमा पनौतीमा मकर मेला लाग्नेछ । नेपालमा मात्र नभई हिन्दु धर्मावलम्बी छिमेकी देशहरूबाट समेत मकर मेलामा तीर्थालु आउने गर्दछन्। भक्तजनहरूले त्रिवेणी घाटमा स्नान गरी त्यहाँको जल उत्तर तर्फ कुञ्ज गिरिमा अवस्थित गोरखनाथलाई अर्पण गर्नाले ठुलो पुण्य मिल्दछ भन्ने धार्मिक आस्था छ ।

स्कन्द पुराणअन्तर्गत हिमवत् खण्ड (नेपाल माहात्म्य) मा वर्णन गरिए अनुसार परापूर्व कालमा सृष्टिकर्ता पर ब्रह्माले ‘अहिल्या’ सुन्दरी सिर्जना गरी दश इन्द्रिय वशमा राख्न सक्ने गौतम ऋषिलाई नासोका रूपमा सुम्पिएको थियो । यो कुरा थाहा पाएका देवराज इन्द्र अहिल्याको रूपबाट कामातुर भई ऋषिको भेषमा अहिल्याको सतित्वहरण गरेका थिए ।

स्नान गरी फर्कँदा आफू जस्तै इन्द्रबाट अहिल्याको सतित्वहरण भएको थाहा पाए पछि रिसले चुर भएका ऋषिले उनलाई जुन वस्तुमा बढी लालसा राख्यो, त्यही वस्तु शरीरमा उत्पन्न होस् भनी श्राप दिएपछि इन्द्रको शरीरमा हजारौँ योनी पाप चिह्नका रूपमा देखिएको थियो । शरीर भरि योनी भएका देवराज इन्द्र पनौतीमा आई १२ वर्ष सम्म गुप्त तरिकाले ‘श्री महादेव’को तपस्यारभक्ति गरेका थिए । पाप मुक्त भएपछि सोही बेला देखि मकर मेला निरन्तर रूपमा चल्दै आएको जनविश्वास रहेको छ ।

सतित्वहरण पछि पत्थर झैँ विवेक हीन अवस्थामा रहेकी अहिल्यालाई ऋषिले शिला हुने श्राप दिएका थिए । ईन्द्रेश्वर महादेव मन्दिरको उत्तरतर्फ अहिल्याको शिला भएको सानो मन्दिर काष्ठमण्डप पछिको निकै आकर्षक मन्दिर रहेको छ । त्रेता युगमा मर्यादा पुरुष रामचन्द्रको जन्म हुने र रामचन्द्रको पाउ स्पर्श पछि अहिल्याको श्राप मोचन भएको पुण्य भूमिको रूपमा पनौतीलाई मान्न सकिन्छ ।

रामले पाइला राखेको भूमि !
यसै प्रसङ्ग स्वरूप यस नगरको नामकरण भएको बुझिएको छ । नेवारीमा ‘पलाँ ती’ पाइला राख भनेर नेवारी भाषामा पलाँती भन्ने गरिन्छ । यसको अपभ्रंश नाम नेपालीमा पनौती भएको छ । मनुष्यको जन्म भए पछि एक पटक पनौतीमा पाइला राख्नै पर्ने जन विश्वासका साथ देश विदेशबाट समेत १२ बर्से मेलामा सहभागी भक्तजनहरूको घुइँचो लाग्ने गर्दा बनेपा देखी सडक अवरुद्ध हुने गर्दछ ।

अर्को किंवदन्ती एक ताका ठुलो खडेरी परेर अनिकाल पर्दा पाटनका र पनौतीका तान्त्रिक वैद्यहरूले पूजापाठ गरी फुल्चोकी माईलाई रिझाउन खोजेका थिए । फुलचोकीको पानी लैजाने होडबाजी चले पछि फुल्चोकी माताले जसले पहिला सुन र चाँदीको फूल चढाउँछ उसलाई वरदान दिने भनेकी थिइन् । यसपछि पाटनका तान्त्रिकले सुन र चाँदीका फूल बनाउन दिए, यता पनौतीका तान्त्रिकले आफूसँग सुन चाँदीको फुल बनाउन हैसियत नभएकोले तोरी र मूलाको फूल (सुन र चाँदीजस्तो देखिने) चढाएका थिए । सुन–चाँदीका फुल चढाएका पाटनलाई भन्दा मूला, तोरीका फुल चढाउने किसानलाई पानीको अभाव छ भन्दै खुसी हुँदै फुल्चोकी माताले पनौती तर्फ पानी पठाइ दिएकी थिइन् ।

सुन र चाँदीको फूल चढाउने पाटनवासीले फुल्चोकी मातालाई आफूहरूलाई पनि वरदान मिल्नु पर्ने बताए पछि माताले उक्त पानी आधा गोदावरी पठाएकी थिइन् । ६ वर्षको अन्तरमा गोदावरीमा मकर मेला लाग्ने गरेकोले ६,६ वर्षको अन्तरालमा दुवै ठाउँमा १२ बर्से मकर मेला लाग्ने गरेको जनविश्वास छ ।

भारतको प्रयागमा गङ्गा र यमुना नदीको सङ्गममा गुप्त रूपले सरस्वती मिसन नदी बहे झैँ पनौती त्रिवेणी घाटमा रोशनीलाई रुद्रावती नदी, पून्यणमाता नदीलाई लिलावती र गुप्त रूपले बहेकी ब्रह्मायणी मन्दिर मुनिबाट दूध बग्ने नदी पद्यमावती मानिँदै आइएको छ ।

यस वर्ष नगरको योजनाअनुसार रोशी खोलाको सफा पानीको तलाउ स्नान गर्न व्यवस्था मिलाउने छ । नगरको सर सफाई सडक बाटो व्यवस्था मिलाएर पनौती नगरलाई सुन्दर र व्यवस्थित बनाउन स्थानीय स्वयम सेवक टोली, भजन मण्डल सङ्घ संस्थाहरूलाई आबद्ध गराई १२ बर्से मेलामा कुनै कठिनाइ आई नपरोस् भनी नगर पालिकाले विशेष चासोका साथ सतर्कता अपनाउने जिम्मेवारी लिएको छ । ठाउँ ठाउमा भौतिक पूर्वाधारका शौचालय मर्मत–सुधार, मानेश्वरी बसपार्क क्षेत्रमा शौचालय निर्माण तथा आवश्यक क्षेत्रमा अस्थायी शौचालय बनाइने भएको छ ।

एक महिनासम्म लाग्ने उक्त मेलालाई थप व्यवस्थित बनाउन ढाँड चौर-सूर्य विनायक-माने दोभान तथा रानी कोट-सूर्य विनायक-जाकी डोल र पनौतीबाट बिपी राजमार्ग जोड्ने सडक पूर्णरूपीले सञ्चालनमा ल्याउन निर्माण एवं स्तरोन्नति भइरहेको छ।

यसै गरी नगरबाट निर्माणाधीन पनौती–बाँस डोल, पनौती-खोपासी, पनौती–कुशदेवी, पनौती–बनेपा र पनौती आशा पुरी सडकलाई स्तरोन्नति (पक्की) गरी यथाशक्य सञ्चालनमा ल्याइने नगर प्रमुख भीम न्यौपानेले बताए ।मकर मेला’ सम्ममा सबै तयारीका भौतिक पूर्वाधार निर्माणका कामहरू दुर्त गतिमा पुरा गर्नु पर्ने भएका छन् । हाल निकै समस्या ग्रस्त रहेको बनेपा पनौती सडक जसरी भए पनि मेला लाग्ने समय भन्दा अगाडी बनाउनु पर्ने भएकोले जोडतोडका साथ सडक निर्माण कार्य पुरा गर्न नगरले ध्यान पुर्‍याउनु पर्ने देखिन्छ । उपभोक्ताहरूलाई सकस परको पिडा भनी साध्य छैन । टिपर गुड्ने समस्याले आजित भएका स्थानीयहरूलाई वैकल्पिक टिपर गुड्ने बाटो कोरिडोर बाटो व्यवस्थापन मिलाउन पर्ने देखिन्छ ।

बनेपा पनौती सडक ट्राफिक व्यवस्थापन वन वे गरे देखि सहज हुने अनुमान गर्न सकिन्छ । त्यसको लागी अन्य पनौती जोडने सडकहरूको प्रयोग व्यवस्थित गर्न आवश्यक देखिन्छ । ईन्टरनेटबाट तीर्थ यात्रुहरूले बाटोको रेखाङ्कनबाट पनौती पुग्न सक्ने र बाटो जाम भएको सहज जानकारी समेत पाउन सक्ने सुविधा मकर मेलामा स्थानीय सरकारले उपलब्ध गराउनु पर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्