Logo
Logo

कर्णालीमा मुख्यमन्त्रीको दाबी पेश गर्न आज साँझ ७ः३० सम्म समय



काठमाडौं । कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेश गर्न प्रदेशसभा सदस्यलाई आह्वान गरेका छन् ।

उनले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दिएको राजीनामा स्वीकृत गर्दै गर्दै आज (मंगलबार) साँझ ७ः३० बजेसम्म मुख्यमन्त्री दाबी गर्नसमेत आह्वान गरेका हुन् ।

प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई आज साँझ ७ः३० बजेभित्र मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेश गर्न प्रदेश प्रमुख कलौनीले आह्वान गरेका छन् ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेपालको संविधानको धारा १६९ उपधारा १ (क) बमोजिम प्रदेश प्रमुखसमक्ष सोमबार साँझ ७ः३० बजे राजीनामा दिएका थिए । प्रदेश प्रमुखले सोमबार नै उनको राजीनामा स्वीकृत गरी उक्त पदका लागि दाबी पेश गर्न प्रदेशसभा सदस्यलाई २४ घण्टाको समयसीमा दिएका हुन् ।

विसं २०७४ फागुन ३ गते मुख्यमन्त्री नियुक्त भएका शाहीले गत वैशाखमा विश्वासको मत लिने क्रममा नेपाली काँग्रेससँग भएको सत्ता समीकरणसम्बन्धी सहमति कार्यान्वयन गर्न राजीनामा दिएको उनीद्वारा जारी प्रेस वक्तव्यमा उल्लेख छ ।

माओवादी केन्द्र, काँग्रेस​ र नेकपा (एकीकृत समाजवादी) बीच भएको सहमतिअनुसार काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही नयाँ मुख्यमन्त्री बन्ने बुझिएाके छ । कर्णाली प्रदेशसभामा माओवादी केन्द्रका १२, काँग्रेसका ६ र एकीकृत समाजवादीका तीन सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्