Logo
Logo

भ्रष्टाचारका मुद्दा हेर्ने विशेष अदालतको हुर्मत



काठमाडौं । भ्रष्टाचारका मुद्दा हेर्ने भनेर गठन गरिएको विशेष अदालत यतिबेला न्यायाधीशको अभावमा बेहाल भएको छ । न्यायाधीश रिक्त भएको भएको तीन महिना बितेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले गत साउन १ गते विशेषका अध्यक्ष प्रेमराज कार्कीसहित चारजना न्यायाधीशको सरुवा गरेका थिए । अध्यक्षसहित ६ जना न्यायाधीश रहने विशेष अदालत दुईजना न्यायाधीशको भरमा कामचलाउ गरिएको छ । तीन महिनाको अवधिमा न्यायाधीश खटाउन प्रधानन्यायाधीश राणाले न्यायपरिषद् वैठकसमेत डाक्न सकेका छैनन् ।

बालुवाटार जग्गा विवादमा तानिएका कांग्रेस उपसभापति एवम् पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारलाई धरौटीमा छाड्ने आदेशपछि अध्यक्षसहित चार न्यायाधीश सरुवामा परेका थिए । न्यायाधीशविहीन अवस्थाका कारण अदालतमा भ्रष्टाचारका मुद्दा पर्खेर बसेका न्यायका उपभोक्ता मर्कामा परेका छन् । विशेष अदालतका तत्कालिन अध्यक्ष शिवराज अधिकारीको सरुवापछि कार्की अध्यक्ष बनेका थिए । सरुवापछि समयमै नयाँ न्यायाधीशको प्रबन्ध गर्न नसक्दा तीन महिनादेखि न्यायविहीनको अबस्था सिर्जना भएको छ । न्यायाधीशको अभावले हाल मुद्दामा तारेख लिएका सेवाग्राही पेशीको आशमा अदालत आउँदै फर्किँदै गरिरहेका छन् ।

दैनिक इजलास गठन र मुद्दा सुनुवाइमा जटिल अबस्था आएको छ । हाल न्यायाधीश अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको भरमा विशेष अदालत चलेको छ । जब की अख्तियार दुरुपयोग अनुसन्धानले चलाएका झण्डै ६ सय बढी मुद्दा लाइनमा छन् । प्रधानन्यायाधीश राणाले विशेषका तत्कालिन अध्यक्ष कार्कीसँगै न्यायाधीश बालेन्द्र रूपाखेती, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुलाई सरुवा गरेका थिए । अहिले दुई जनाको मात्रै इजलास गठन हुँदा मुद्दामा राय बाझिएमा संकट उत्पन्न हुन्छ । एक जना न्यायाधीश मात्रै नआएमा पनि मुद्दाको सुनुवाइ नै रोक्नुपर्ने हुन्छ । प्रधानन्यायधीशको लफडाले तत्काल न्यायपरिषद् वैठक बस्ने सम्भावना देखिँदैन ।

प्रधानन्यायाधीश राणा पछिल्लो समय संवैधानिक अंगमा भागवण्डा, मन्त्रिमण्डलमा बाँकेका गजेन्द्र हमालको प्रस्ताव, न्यायमा विचलन, आचारसंहिताको गम्भीर उल्लंघनलगायत प्रकरणले विवादको घेरामा छन् । अर्को प्रधानन्यायाधीश नफेरिँदासम्म तत्काल परिषद् बैठक बस्ने सम्भावना छैन ।

न्याय परिषद् स्रोतका अनुसार बैठक कहिले बस्ने भन्ने कुनै निधो छैन । ‘यस्तो अन्यौल र भद्रगोल अबस्थामा अझै लामै समय वैठक नबस्ने लक्षण देखिएको छ । वैठक डाक्ने प्रधानन्यायाधीशले हो । उहाँले वैठकको एजेण्डा नपठाएसम्म सदस्यहरु यत्तिकै आउने कुरा हुँदैन,’ परिषद स्रोतले भन्यो, ‘प्रधानन्यायाधीशको स्थिति भनिरहनुपरेन । विशेष अदालत मात्रै होइन, सबैतिर जटिलता आउने अबस्था छ । यो माथिकाले नै बुझ्ने कुरा हो ।’

प्रधानन्यायाधीश राणा पछिल्लो समय संवैधानिक अंगमा भागवण्डा, मन्त्रिमण्डलमा बाँकेका गजेन्द्र हमालको प्रस्ताव, न्यायमा विचलन, आचारसंहिताको गम्भीर उल्लंघनलगायत प्रकरणले विवादको घेरामा छन् । अर्को प्रधानन्यायाधीश नफेरिँदासम्म तत्काल परिषद् बैठक बस्ने सम्भावना छैन । यसरी तीन महिनासम्म परिषद अनिर्णयको बन्दी भएका कारण विशेष अदालत अकर्मण्यताको घानमा परेको छ । यसरी प्रधानन्यायाधीश राणाका कारण न्यायको हुर्मत भएको छ । मारमा दूरदराजका सेवाग्राही परेका छन् ।

प्रतिक्रिया दिनुहोस्