काठमाडौं । भ्रष्टाचार देशको लागि कहिले निको नहुने रोग भएकोले निर्ममताका साथ भ्रष्टाचारको छानबिन हुनुपर्छ । जोसुकै भए पनि जति ठूलो पदमा भए पनि भ्रष्टाचारीलाई छोड्नु हुन्न ।
नेकपाको दुईतिहाइको सरकारलाई भ्रष्टाचार न्यूनीकरण र सुशासन कायम गर्ने अवसर जनताले दिएका थिए । तर, बालुवाटारमा बसेर ‘म भ्रष्टाचार गर्दिनँ, भ्रष्टाचार गर्न पनि दिन्न’ भन्नेबाटै ठूला ठूला नीतिगत भ्रष्टाचार भएकोले कम्युनिष्टहरु बदनाम भएका हुन् । विचार, सिद्धान्त, विधि, पद्धतिबाट च्युत भएपछि कस्तो परिणाम भोग्नुपर्छ भन्ने कुरा अहिले ओलीले भोगिरहेका छन् । पार्टीलाई विधिसम्मत ढंगबाट अगाडि बढाउन धेरै प्रयत्न र समय खर्च ग¥यौं । तर, सुधार्न सकेनौं । कम्युनिष्टकै खोल ओढेर गोर्वाचोभ प्रवृत्ति देखायो । कोभिडको बेलामा समेत औषधि खरिदमा भ्रष्टाचार भएको समाचार बाहिर आयो ।

त्यसैले अब भ्रष्टाचारीहरुमाथि निर्मम तरिकाले कारबाही गर्ने बेला आयो । त्यो कारबाही गर्न अब हामी तयार हुनुपर्छ । भ्रष्टाचारीलाई जेल पु¥याउनुपर्छ ।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले हिजो बुद्धिजीवी परिषद् र पेशागत महासंघद्वारा प्रज्ञा भवनमा आयोजित कार्यक्रममा उक्त कुरा बताउनुभएको हो । अध्यक्ष नेपालले भ्रष्टाचार गर्नकै लागि पानीजहाजलगायतका हावादारी योजना अगाडि सारिएको र ठूला ठूला ठेक्कामा बालुवाटारले सेटिङ गरेको आरोप लगाउनुभयो ।
प्रमुख अतिथिका रुपमा बोल्दै विचारविहीन एमाले पार्टीबाट समाजवादको लक्ष्य प्राप्त हुन सक्दैन भन्ने निष्कर्ष निकालिएकोले नयाँ पार्टी खोल्नुपरेको बताउनुभयो । उहाँले अहिले केही नेता, कार्यकर्ता अन्योलमा भए पनि सत्य के हो भन्ने कुरा एक दिन थाहा पाउनेछन्, जुन दिन सत्य पत्ता लाग्छ त्यो दिन एमाले समाप्त भइसक्छ भन्नुभयो ।
ओलीले दलाल पूँजीपतिको सेवा मात्र गरेनन्, बिचौलियालाई संस्थागत गरेर पार्टीलाई तहसनहस पारेको बताउनुभयो । उहाँले कार्यकर्तामा आँट र गति भयो भने जस्तोसुकै चुनौती पनि पार गर्न सकिन्छ भन्दै अब पुनः कम्युनिष्ट आन्दोलनलाई एकीकृत र सशक्त बनाउन देशभक्त इमान्दार कार्यकर्ता जुट्नुपर्ने बेला आएको बताउनुभयो ।











