Logo
Logo

गृहमन्त्रीले बाढीपहिरो प्रभावित क्षेत्रलाई संकटग्रस्त जिल्ला घोषणा गर्न पहल गर्ने



डडेल्धुरा । प्रधानमन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका गृहमन्त्री बालकृष्ण खाँणले आज डडेल्धुराको बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवाको जन्मथलो डडेल्धुराको गन्यापधुरा गाउँपालिका १ र ३ मा गएको पहिराबाट पुगेको क्षतिको निरीक्षण गर्नुभएको हो ।

निरीणका क्रममा गृहमन्त्रीलाई गाउँपालिका अध्यक्ष नवलबहादुर मल्लले बाढीपहिरोबाट भएको क्षतिको विवरण प्रस्तुत गरे । निरीक्षणका क्रममा गृहमन्त्री खाँण प्रधानमन्त्री देउवा जन्मेको गाउँ रुवाखोलासमेत पुगेर पहिरोबाट पुगेको क्षतिबारे जानकारी लिए ।

सोही अवसरमा गृहमन्त्री खाँणले बाढीपहिरो पीडितलाई चाँडै राहतको व्यवस्था गरिने अश्वासन दिलाए । उनले पीडित जनतालाई राहत र घर निर्माणका लागि सरकारले सक्दो सहयोग पु¥याउने प्रतिबद्धता व्यक्त गरे । हालैको अविरल वर्षासँगै गएको बाढी पहिरोमा परी डडेल्धुरामा तीन जनाको मृत्यु भएको थियो । धनमालको ठूलो क्षति पुगेको थियो ।

गन्यापधुरा–१ मा मात्रै रु एक अर्बभन्दा बढीको क्षति भएकोे विवरण पेश गरिएको छ । पर्तोल गाउँमा मात्रै दर्जन बढी घर पहिरोको जोखिममा छन् । जोखिममा रहेका स्थानीयवासीले आफूहरूका बस्ती सुरक्षित स्थानमा सार्नुपर्ने माग गरेका छन् । उक्त गाउँपालिकामा मात्रै बाढीपहिराबाट २५० घरधुरी जोखिममा रहेको बताइएको छ । गृहमन्त्री खाँणले आज सुुदूरपश्चिम क्षेत्रका डडेल्धुरा, बझाङ र बैतडीका बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्