Logo
Logo

घरविहीनलाई अब पक्कीघर !


- दृष्टि न्युज/संवाददाता


बर्दिबास, २५ वैशाख । महोत्तरी जिल्लाको बर्दिवास नगरपालिकाका भूमिहीन गरीब अब पक्कीघरमा बस्न पाउने भएका छन् । नगर क्षेत्रभित्रका सुकुम्वासी गरीबलाई लक्षित गरी नगरपालिकाले पक्की घर निर्माणको काम थालेपछि यहाँका गरिबले अब पक्कीघरमा बस्न पाउने भएका हुन् ।
जनता आवास कार्यक्रमअन्तर्गत बर्दिवास–१३ विजलपुराको मुसहरीटोलबाट पक्कीघर निर्माण काम थालिएको हो । यस कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्ष २०७५÷७६ भित्र ३६ घर निर्माण गरिने नगरप्रमुख विदुरकुमार कार्कीले जानकारी दिए ।
नगरपालिकाले पहिलो चरणमा वडा नं– ६, ८ र १२ मा पक्कीघर बनाउने काम थालेको छ । वडा कार्यालयले सिफारिस गरेका सुकुुम्वासी, भूमिहीन र गरीबका लागि पक्कीघर निर्माणको काम थालिएको प्रमुख कार्कीको भनाइ छ ।
अव्यवस्थित बस्ती, भूमिहीन, घर नभएका र पराले झुप्रोमा गुजारा गर्दै आएका गरीबलाई यस कार्यक्रममा छनोट गरिएको छ । पहिलो प्राथमिकतामा मुसहरका लागि घर निर्माण हुने नगरपालिका कार्यालयले जनाएको छ । निमार्ण हुने घरको नमूना शहरी विकास मन्त्रालयबाट सिफारिस भएअनुसार भूकम्प प्रतिरोधी हुने नगरपालिकाका प्रमुख इञ्जिनीयर टेकबहादुर कटुवालले जानकारी दिए ।
चार कोठे यि घरमा शौचालय, सडक, विद्युत् र खानेपानीको सुविधासमेत रहने कटुवालको भनाइ छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत तराई–मधेश समृिद्ध कार्यक्रम र नगरपालिकाको संयुक्त बजेटमा करीब रु तीन करोडको लागतमा पहिलोचरणका ३६ घरको काम थालिएको हो । एक तले भूकम्पप्रतिरोधी घर निमार्ण गर्न एक घरमा रु सात लाख ५० हजार लाग्ने प्रमुख इञ्जिनीयर कटुवालले जानकारी दिए ।
यसबाहेक नगरपालिकाले फुसका घरकोे छानो फेर्ने कार्यक्रमसमेत अघि सारेको छ । गरीब विपन्न जनताको घरमा खर, परालले छाएको घरलाई स्तरोन्नति गरिने नगरप्रमुख कार्कीको भनाइ छ । यसका लागि एक घरमा रु ५० हजार बजेट छुट्याइएको छ । पहिलोचरणमा यस कार्यक्रममा ८० वटा घरको छानो फेरिने नगरपालिका कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्