Logo
Logo

गठबन्धन आगामी चुनावसम्मै कायम रहन्छ : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच दलीय सत्ता गठबन्धन आगामी चुनावसम्मै कायम रहने बताएका छन् । जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप-२६) मा भाग लिएर आज बिहान स्वदेश फर्किएका देउवाले त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।

‘गठबन्धन पूरै समयसम्म रहन्छ । गठबन्धनबारे कुनै किसिमको शंका नगर्नु भए हुन्छ’, प्रधानमन्त्री देउवाले भने । यस्तै देउवाले प्रधानन्यायाधीश प्रकरणबारे भने बोल्न चाहेनन् । देउवाले एमसीसी दलहरुबीच सहमति गरेर पास गर्ने बताए । संसद् अधिवेशन अन्त्य भएपछि अमेरिकाले यसबारे चासो व्यक्त गरिरहँदा प्रधानमन्त्रीले देउवाले संसद् अधिवेशन अर्कै कारणले बन्द गरेको र एमसीसीबारे नआत्तिन भनेर भनिसकेको बताए ।

भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको पनि देउवाले बताए । ‘उहाँलाई मैले नेपाल भ्रमणमा आउनुस् भनेँ । तपाईंलाई नेपालमा स्वागत गर्छौं भनेँ । तपाईं पशुपतिनाथ, मुक्तिनाथ जानुहुन्छ, तपाईं धार्मिक ठाउँ जानुहुन्छ, नेपालमा आउनुस् भनेँ,’ देउवाले भने, ‘उहाँ आउन तयार छु भन्नु भएको छ ।’

प्रधानमन्त्री देउवा सो सम्मेलनमा भाग लिन यही कात्तिक १२ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गरेका थिए । प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डलमा वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल, वन तथा वातावरण मन्त्रालयका सचिव डा प्रेमनारायण कँडेल, अर्थमन्त्रालयका सचिव मधुकुमार मरासिनी, गृहमन्त्रालयका सचिव टेकनारायण पाण्डे, राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी, राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष डा माधवबहादुर कार्की सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्