Logo
Logo

हराउँदै भैलीको मौलिकता


तारानाथ आचार्य


बलेवा । सोह्र वर्षको उमेरमा भैली खेल्दा जम्मा भएको चामल बोराभरि बोकेर सातगाउँ डुलेका बागलुङको गलकोट नगरपालिका–४ का भवदत्त न्यौपानेलाई अहिले पनि भैलेनीको खुब याद आउँछ । सत्तरी वर्षीय न्यौपानेलाई उहिलेको भैलेनी सम्झिँदा अहिले पनि मारुनी बनेर नाचौँ नाचौँ लाग्छ । महिलाको वेशमा पुरुषले सोरठी गीतमा नाच्नुलाई मारुनी भनिन्छ ।

गाउँभरिका तन्नेरी जम्मा भएर भैली खेल्दा, मारुनी नाच्दा रमाइलो हुन्थ्यो । कात्तिके दान जसको घरमा जे छ, त्यही दिने चलन थियो । चामल, धान कोदोलगायतका अन्न धेरै दान पाइने भएकाले बलिया युवा भैलेनीमा खोजी हुन्थे । बारीका कान्ला हुन् वा बाटोका पर्खाल भैलेनीमा हिँडेका युवाले जरक्कै भारी बोकेर पार लगाउँथे ।

बलिराजाका कथा सोरठीको भाकामा गाउँदै मारुनी नाच्दा सातगाउँ डुलेको र रात कटेको पत्तै हुँदैनथ्यो रे उनलाई राँको बालेर अक्करे भीरको बाटोमा हल्ला गर्दै हिँडेको तन्नेरी जोश अहिले बुढ्यौलीमा झल्झली याद आउँछ तर अहिले न्यौपानेले भैलेनी नदेखेको धेरै वर्ष भयो । आफूले गाउन नाच्न नसके नि अहिलेका नयाँ पुस्ताले भैलेनी खेलेको हेर्ने न्यौपानेको रहर छ ।

‘न भैलेनीका गीत सुनिन्छ न नाच भैलेनीको जस्तो छ’, न्यौपानेले भने, ‘अहिले त गीत र नाच पनि सबै अर्कैका हुन्छन्, चन्दा माग्न हुल बाँधेर आएजस्तो, हरियो गोबरले लिपेको लक्ष्मीको पूजा गरेको कथा जस्तै हुन थाल्यो ।’

बागलुङको जैमिनी नगरपालिका–१० का खगेन्द्र पौडेल पनि उ बेला भैलेनीका प्रखर गायक थिए । पचास वर्षीया पौडेल गाउने, नाच्ने र भट्याउने सबै कला भएका कलाकार थिए । गाउँमा विद्यालयका लागि सहयोग गर्न होस् वा गोरेटो बाटो बनाउन किन नहोस्, राजनीतिक पार्टीको खर्च चलाउनेसम्मका कामका लागि भैली खेल्ने गरेको उनको अनुभव छ । पौडेलले पनि धेरै भयो सामाजिक भाव राखेर खेलिएको भैलो नदेखेको ।

‘कति हिँडियो, कति गाइयो नाचका कुरै नगरौँ, भैलीको आफ्नै मौलिकता थियो’, पौडेल भन्छन्, ‘आजभोलि त हिन्दी र अङ्ग्रेजी गीतमा नाचेर भैलो भन्छन् ।’ विशेषगरेर तिहार पर्वमा खेलिने भैलो हराउँदै गएकामा पुराना पुस्ता चिन्तित छन् । भैलीको आफ्नै मौलिक पहिचान र इतिहास छ तर नयाँ पुस्ताले एकातर्फ भैलीको मौलिकतामाथि प्रहार गरिरहेको छ भने अर्कोतर्फ भैली खेल्ने संस्कृति नै लोप हुने अवस्थामा छ । अहिले भैलेनी आँगनमा आउँदैन, आँगनको फेरो हालेर भैलेनी नाच्दैनन् । डेक र स्पिकरमा घन्केका गीतमा हुने नृत्यले न त तिहार सम्झाउँछ न भैलोको कुनै छनक दिन्छ ।

विक्रम संवत्को १४ औँ शताब्दीबाट भैली खेल्ने परम्परा सुरु भएको हो । लोकसाहित्यका जानकार प्राध्यापक डा दीनबहादुर थापा भन्छन्, ‘उ बेलाको बृहत् खस राज्यबाट यो प्रचलन सुरु भएको हो । त्यतिबेला खस राज्यका प्रभावशाली राजा बलिले सामाजिक कामका लागि सेवा भावले चन्दा उठाउन बठाएको कथासँग भैलो जोडिएको छ ।’

उनका अनुसार भैलोमा सोरठी गाउने चलन छ । खस राज्यमा गाइने सोरठी पनि दुई प्रकृतिको हुन्थ्यो । मङ्गोल समुदायले ढिलो सोरठी गाउँथे । सोरठीमा जयसिंह राजाको कथा गाइन्थ्यो भने आर्य समुदायले अलि छिटो गाउँथे । आर्य समुदायले राम चरित्रमा आधारित गीत गाउँथे । ‘ताल, नाच, लय भाव एउटै थियो, मात्रै गीतको गति र विषयवस्तु फरक रहेको पाइन्छ’, थापाले भने, ‘भैलोसँग कला संस्कृति, परम्परा र समाजसेवा धेरै क्षेत्रसँग जोडिएको छ ।’

अहिले भैलोको मर्म मारेर भैलो खेलिने गरेको थापाको बुझाइ छ । समाजसेवाका लागि दान सङ्कलन गर्न गाइने भैलो अहिले सीमित स्वार्थ पूर्तिका लागि प्रयोग हुने गरेको उनले गुनासो गरे ‘पहिले पनि माग्थे, अहिले पनि माग्छन्, मनोरञ्जनका लागि खेलिने भैलोमा पहिले र अहिलेमा फरक छैन”, थापा भन्छन्, ‘मात्रै पहिले विशुद्ध समाजसेवा र मनोरञ्जनसँग जोडिएको भैलो अहिलेको तडकभडकले कहाँ पु¥यायो ।’ भैलोमा आएको विकृति सुधार गर्दै संस्कृतिको संरक्षण गर्नुपर्ने तर्क छ उनको । रासस

प्रतिक्रिया दिनुहोस्