Logo
Logo

शङ्खधर साख्वाःको ऐतिहासिक योगदान छ : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल संवत्का प्रवर्तक राष्ट्रिय विभूति शङ्खधर साख्वाःको ऐतिहासिक योगदान रहेको बताएका छन् ।

साख्वाःले नेपालको मौलिक एवं राष्ट्रिय संवत्को प्रचलन तथा गरिबी उन्मूलनको अभियान थालनी गरेबाट समाजमा शान्ति स्थापना, नेपाली जनताको स्वतन्त्रता र स्वाभिमान बढाउन गरेको योगदानले राष्ट्रको गौरव बढाएको उनले वर्णन गरे ।

नेपाल संवत् ११४२ न्हुदँ राष्ट्रिय समारोह समितिद्वारा आज यहाँ आयोजित समारोहमा प्रधानमन्त्री देउवाले साख्वाःले ऋणमा डुबेका नेपाली जनतालाई ऋण र दासत्वबाट मुक्त गराई स्वाभिमान र स्वतन्त्रतापूर्वक बाँच्ने अवस्था सिर्जना गर्नुभएको बताए ।

राष्ट्रिय विभूति साख्वाःको अतुलनीय योगदानलाई जनस्तरमा प्रचार–प्रसार गर्ने र नेपाल संवत्को ऐतिहासिकता, व्यवहारिकता एवं सांस्कृतिक महत्वका विविध पक्षबारे आम नागरिकलाई जानकारी गराउन जरुरी भएको उनको भनाइ थियो ।

प्रधानमन्त्री देउवाले साख्वाःको योगदान जनतासम्म पुग्ने मात्र होइन् धार्मिक एवं सांस्कृतिक धरोहरको संरक्षण भई हाम्रा सांस्कृतिक परम्पराको महत्व पनि प्रष्ट हुने विश्वास व्यक्त गरे ।

नेपाल संवत् ११४२ न्हुदँको उपलक्षयमा साख्वाःको मानव सेवाभावप्रतिको भावनालाई उच्च सम्मानका साथ कदर गर्दै उहाँको अनुकरणीय योगदानलाई प्रचार प्रसार गरी स्वदेश तथा विदेशका नागरिकमाझ पु¥याएर सकारात्मक सन्देशको प्रवाह गर्नुपर्नेमा देउवाले जोड दिए ।

यस कार्यमा क्रियाशील विभिन्न सामाजिक सङ्घसंस्थाका प्रतिनिधि, अभियानमा योगदान पुर्याउने व्यक्तित्वसहित समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइमा उहाँले सुख, शान्ति, समृद्धि र प्रगतिको शुभकामना व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्