Logo
Logo

प्रचण्डको जिपलाइन उडान र साहसिक खेल पर्यटन प्रचारमा योगदान



कात्तिकको पहिलो साता आएको बेमौसमी वर्षापछि बाढीपहिराले किसानले थन्काउन लागेका अबौँका धान माटोमा मिसिए । जतिखेर एकथरी चिन्ता व्यक्ति गर्दैथिए, ‘देशमा अब महँगी बढ्नेछ, गरिब जनता भोकै मर्ने भए ।’

छापा, अनलाइन मिडियादेखि सामाजिक सञ्जालसम्म ‘बेमौसमी बाढीपहिरा’ छाइरहेका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एक्कासी शोसल मिडियामा ‘भाइरल’ बने ।

सत्तारुढ गठबन्धनको शीर्ष नेतामध्येका एक प्रचण्ड राजनीतिक तनावका बीच ‘रिफ्रेसमेन्ट’का लागि परिवारसहित सिन्धुपाल्चोकस्थित सुकुटेबिच हिँडेको भोलिपल्ट ‘सुपरमेन जिपलाइनर’मा कावा खेलिरहेको भिडियो सार्वजनिक भयो । उक्त भिडियो ‘भाइरल’ भएपछि शोसल मिडियामा प्रचण्डको आलोचना सुरु भयो ।

आलोचकले ‘कम्युनिष्ट नेताको नसुहाउँदो काइदा’ भने । कसैले देश बाढीपहिराबाट आक्रान्त बनेको अवस्थामा ‘प्रचण्डले कावा खेलेर जनता गिज्याएको’ टिप्पणी गरे । अझै रोकिएको छैन प्रचण्डले कावा खेलेको प्रसंग ।

टिप्पणी आफ्नै ठाउँमा छ । मान्छेले आफ्नो बुझाइअनुसार टिप्पणी गर्ने हो । तर, कसैले टिप्पणी गरेनन्, ‘माओवादी अध्यक्ष प्रचण्डले धुलिखेलमा चढेको ‘सुपरमेन जिपलाइनर’ले देशलाई फाइदा पनि भएको छ ।’ फरक यति हो, प्रचण्डले योे समय ‘सुपरमेन’ बन्ने रहर गर्नु हुन्नथ्यो । तर, संयोग बैमौसमी वर्षासँगै जुुर्यो ।

सकरात्मक दृष्टिकोण
विश्वमै नेपाल साहसिक खेलहरुको अपार सम्भावना भएको देश हो । अध्यक्ष प्रचण्डले जिपलाइनर चढेर स्वदेशमा मात्र नभएर विदेशमा समेत त्यसप्रति चासो बढेको छ । प्रधानमन्त्री भइसकेका नेताले जिपलाइनर चढेर नेपालको प्राकृतिक सुन्दरताले भरिपूर्ण साहसिक खेलको प्रचार भएको छ । साथै, विश्व महामारीको रुपमा फैलिएको कोभिड–१९ संक्रमणसँगै संकटमा परेको नेपालको पर्यटन क्षेत्रलाई टेवा पुर्याएको छ ।

प्रचण्डले मात्र होइन, अन्य नेता तथा सेलिब्रटीहरुले पनि यस्ता रचनात्मक र साहसिक गतिविधि गरेर नेपालको पर्यटन क्षेत्रको प्रचार गर्न आवश्यक छ । अहिलेको प्रचार प्रसारको जमाना हो । अमेरिका, चीन, जापान र बेलायतजस्ता विकशित देशहरुले समेत आफ्नो वस्तुको प्रचार गर्न अनेक गतिविधिहरु गर्दै आइरहेका छन् ।

चीनको प्रचार स्टण्ट
सन् २०२० मा चीनको एउटा ‘थिम पार्क’मा सुँगुरलाई बन्जी जम्प गराइएको थियो । सुँगुरलाई बन्जी जम गराइएपछि त्यसको सामाजिक सञ्जालमा कडा आलोचना भयो । सुँगुरलाई बन्जी जम गराउनुको एउटै उद्देश्य थियो, पर्यटनको प्रचार । दक्षिण पश्चिम चीनको चोङकिङमा अवस्थित पर्यटकीय क्षेत्रको प्रवद्र्धनका लागि सुँगुरलाई बन्जीजम्प गराएको थियो ।

चिनियाँ सञ्चारमाध्यमका अनुसार चोङकिङको मेक्सिन रेड वाइन टाउनमा नयाँ बन्जी जम्पको प्रवद्र्धनका लागि सुँगुरको प्रयोग गरिएको हो । त्यो बेला चिनियाँ पत्रिका ग्लोबल टाइम्सले सुँगुरको प्रयोग ‘मार्केटिङ स्टन्ट’ भएको भन्दै टिप्पणी गरेको थियो । पत्रिकाको विश्लेषण थियो, ‘सुँगुर ठीक तर स्टन्ट गराउने मान्छे बेठीक’ ।

त्यसपछि थिम पार्कले माफी माग्दै भनेको थियो, ‘हामी नागरिकको आलोचनालाई स्वीकार गर्दै माफी माग्न चाहन्छौँ । हामी पर्यटकीय क्षेत्रको मार्केटिङमा सुधार गर्नेछौँ ।’

नेपालमा साहसिक खेल
नेपालमा पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि सुँगुरलाई जिपलाइनर वा बन्जी जम गराउनु आवश्यक छैन । प्रचण्डजस्ता नेताहरुले पर्यटकीय क्षेत्रमा पुगेर केही बोलिदिएमात्र पनि पुग्छ । हाम्रा नेताहरु सबै प्रचण्डजस्तो साहसिक नहुन सक्छन् । यदि बन्जी जम्प र जिपलाइनर गर्न सक्ने नेता तथा मन्त्रीहरुले गरिदिए नेपालको पर्यटन क्षेत्रको प्रचार–प्रसार र विकासमा अवश्य टेवा पुग्छ । तर, यहाँ नेता र मन्त्रीहरुले साहसिक खेल वा रमाइलो गर्नै नहुनेजस्तै आलोचना गरिन्छ ।

साहसिक खेलको सम्भावना
नेपाल पर्यटनका लागि उर्वर देशको हो । विश्वको शिखर सगरमाथा मात्र नभएर गौतमबुद्ध र भृकुटी जन्मिएको देश हो नेपाल । विदेशी पर्यटक साहसिक खेलमा रमाउँछन् । त्यही भएर नेपालमा हिमाल र पहाड ट्रेकिङको लागि वर्षेनी हजारौं विदेशी पर्यटक आउने गरेका छन् ।

नेपालमा साहसिक खेलबाट नगन्य पर्यटक आकर्षण गर्न सकिन्छ । आन्तरिक तथा बाह्य पर्यटक आकर्षित हुने एक प्रमुख गन्तव्य साहसिक खेल पनि हो । नेपालमा थुप्रै साहसिक खेलहरु सञ्चालनमा छन् । अझै नयाँ नयाँ त्यस्ता खेलहरु सञ्चालनको तयारीमा छन् । यस्ता साहसिक खेलले पर्यटकलाई लोभ्याइरहेका छन् । तर, विश्वव्यापी बनेको कोभिडका कारण नेपालमा सञ्चालित यस्ता खेल सञ्चालन गर्ने व्यवसायी समस्यामा छन् । पर्यटकको चहलपहल नहुँदा यी खेल यतिखेर ओइलाएर बसेका छन् ।

यस्ता खेल कहाँ–कहाँ छन्
सिन्धुपाल्चोकको भोटेकोशी र पोखरामा बन्जी जम्प सञ्चालित छ । भोटेकोशीमा बन्जी र स्वीङ खेल्नका लागि विदेशीहरु समेत आउँछन् । पोखरामा हाइग्राउण्ड एडभेन्चर प्रालिले सञ्चालन गरेको बन्जी जम्प पनि लोकप्रिय छ । पोखरा र भोटेकोशीबाहेक गण्डकी प्रदेशको कुश्मामा विश्वकै दोस्रो अग्लो बञ्जी जम्पको सफल परीक्षण भइसकेको छ ।

यस्तै, नेपालमा अर्को साहसिक खेल क्यानोनिङको पनि सुरु भएको छ । डरलाग्दो चट्टानी पहरामा डोरीको सहायतामा झुण्डिँदै, चिप्लिँदै झरना र खोलाका छाँगाबाट खस्दै खेलिने क्यानोनिङ नेपालमा साहसिक पर्यटकीय आकर्षणका रूपमा विकसित भएको छ । युरोप र अमेरिकामा लोकप्रिय यो खेल पहाडी र हिमाली भेगमा रहेका झरना र खोलाको छाँगामा खेल्न सकिन्छ ।

भोटेकोशी नदी, सुनकोशी नदी, सुन्दरीजल र ककनीमा चट्टानी पहाराबाट झर्ने झरना र खोलाका छाँगाहरू क्यानोनिङ गर्ने प्रमुख स्थल हुन् । हिमालपारिको जिल्ला मनाङको फू गाविसमा हिमालबाट झर्ने ५ हजार २१५ मिटर उचाइको लुगा खोलाको छाँगो क्यान्योनिङका लागि विश्वकै सबैभन्दा उचाइको मानिन्छ ।

प्याराग्लाइडिङ
नेपालमा पर्यटक आकर्षण हुने अर्को प्रमुख साहसिक खेल हो, प्याराग्लाइडिङ । गण्डकी प्रदेशको राजधानी पोखरा प्याराग्लाइडिङका लागि चर्चित छ । पोखराको सराङकोटको डाँडाबाट उडान सुरु भएर फेवाताल नजिकै यसको अवतरण हुन्छ ।

हाल पोखराबाहेक स्याङ्जा, पाल्पा, ललितपुरको गोदावरी, काठमाडौँको साँखु, धरान, इलाम, संखुवासभा, सुर्खेत र बन्दिपुरलगायतका स्थानमा पाराग्लाइडिङ सञ्चालनमा छ ।

पछिल्लो समय धुलिखेलमा जिपलाइनर सञ्चालनमा आएको हो । तर, धेरैलाई थाहा थिएन । माओवादी अध्यक्ष प्रचण्डले जब जिप फ्लाइङमा कावा खेले, तब चर्चामा आएको छ । त्यसपछि जिप फ्लाइङले धेरैलाई आकर्षित गर्न थालेको छ । धेरै आन्तरिक पर्यटक पुग्न थालेका छन् ।

नेपालमा रक क्लाइम्बिङसमेत छ । यो खेल अग्लो पहरामा डोरीको सहायताले उक्लने र झर्ने गरिन्छ । वाल क्लाइम्बिङ, रक क्लाइम्बिङ र आइस क्लाइम्बिङ गरी तीन प्रकारका क्लाइम्बिङ हुन्छ । सिन्धुपाल्चोकको भोटेकोशी, लमजुङको पर्यटकीय गाउँ पुरानकोट, भक्तपुरको नगरकोट, ललितपुरको हात्तीवन, काठमाडौँको नागार्जुन, तनहुँको विमलनगर, पोखरामा हलनचोक नजिकै, सगरमाथा जाने बाटो खुम्बु, इलामलगायत स्थानमा यो खेल सञ्चालित छ ।

यस्तै, नेपालमा साहसिक खेल स्कि लिफ्ट पनि सुरु भएको छ । यो प्रायः युरोपियन मुलुकतिर हिउँमा रमाइलो गरी खेलिने अन्तर्राष्ट्रिय खेल हो । पछिल्लो समय यो खेल नेपालमै सुरु भएको छ । लाङटाङ क्षेत्रको क्यानजिङ गुम्बा आसपास, याला पिक, गोसाइँकुण्ड, कालिञ्चोक, अन्नपूर्ण बेस क्याम्प, मिरा पिक, एभरेस्ट कालापत्थर, मनास्लु बेस क्याम्प, धवलागिरि बेस क्याम्प यस खेलका लागि उपयुक्त स्थान मानिन्छ ।

साहसिक खेलमा रमाउनेका लागि र्याफ्टिङ वा कायाकिङले पनि नेपालमा आन्तरिक तथा बाह्य पर्यटकको मन जितेको छ । र्याफ्टिङ हावा भरेर चलाउन मिल्ने डुंगा प्रयोग गरेर पानीको बहावसँगै बग्दै गरिने जलयात्रा हो । तर, पछिल्लो समय यी साहसिक खेलहरुमात्र होइन, विश्वव्यापी कोरोना संक्रमणका कारण पर्यटन क्षेत्र पनि थलिएको छ । पूरानै अवस्था फर्कन अझै कति समय लाग्ने हो, पत्तो छैन किनकि विश्व अझैपनि कोरोनासँग जुधिरहेको छ । यस्तो अवस्थामा प्रचण्डले गरेको जिपलाइनरले नेपालको पर्यटनमा केही टेवा पुर्याएको छ ।

तस्बिरहरू : धुलिखेल जिपलाइन

प्रतिक्रिया दिनुहोस्