Logo
Logo

हिजोकै व्यवस्थामा लतारिनुपर्ने जरुरी के छ ?



निष्लोट अन्धकारको भुमरीमा जेलिएका नेपालीहरुले क्षितिज उघार्न खोजेको दशकौं भयो । विश्वासको दियालो समातेर अक्करे भिरहरुमा दौडिन थालेको पनि दशकौं बित्यो । पसिनाको नदी बगाएर दरबारको खोपीसम्म अनाज पुर्याउनेहरु जमानादेखि चुहिने छानो मुनि आश्रित छन् ।

करिब दुईतिहाइ बहुमतसहित सत्तामा चालिस महिना बस्दा ओम्नी र यतिको सुसार गर्ने अनि सत्ताबाट हटेपछि सुकुम्बासी सम्झिने कथित राजनेता पनि देखियो । यद्यपि, सत्तासीन हुँदा भुइँमान्छे सम्झिने नेता कतै देखिएनन् ।

संघीय लोकतान्त्रिक गणतन्त्र कसैले शहरमा दुई–चार दिन गफ हानेर ल्याएको व्यवस्था होइन । विभिन्न युटुव च्यानलमा आफैले आफैलाई बडो विचित्रको विश्लेषक घोषणा गर्नेहरुको बेसुरे कुतर्कले भित्र्याएको पनि होइन ।

संघीय लोकतान्त्रिक गणतन्त्रका आफ्नै मूल्य मान्याताहरु छन् । जसका लागि जनताले बलिदानी दिए । यसका आफ्नै मर्म र महत्व छन् । बारम्बार यो व्यवस्थाप्रति धारे हात लगाउने तत्वहरुले यो बुझ्न् जरुरी छ कि– देशमा लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था नभएको भए उनीहरुको हालत के हुन्थ्यो ? धेरै पर नपुगेर एकपटक राजतन्त्रात्मक व्यवस्थालाई स्मरण गरे काफी हुन्छ ।

यो व्यवस्था आफँैमा गलत होइन । यदाकदा क्षणिक लाभका लागि कतिपयले बदनाम गरिरहेका छन् । जसको नीति उसकै नेतृत्व हुनुपर्नेमा यहाँ अनेक खेलखण्ड भएका छन् । घर पोत्नेको र खेत जोत्नेको हुनुपर्नेमा बीचमा अरु कसैले नै हालीमुहाली गरिरहेको छ । कुरो बिग्रिएको यहीँ हो ।

हिजो यो व्यवस्थाका लागि रगत पसिना बगाउनेहरु किनाराकृत भएका छन् । जसले यो युगको जमेर विरोध गर्थे उनीहरु चोरबाटो हुँदै छिरेर मालिक बनेका छन् । हो यसै कारणले यो व्यवस्था बदनाम भएको छ ।

आज प्रचण्ड र माधव नेपालहरुको खिल्ली उडाउनेहरु पुरातन युगको स्थापानार्थ जमेर मोलमोलाइ गरिरहेका छन् । यद्यपि, हिजो सत्ता उन्मादमा बेहोस भएका केपी ओलीलाई सत्ताच्युत गर्न जंगिएर सत्ता आरोहण गरेका देउवाको कार्यशैली पनि त्यो भन्दा फरक देखिएको छैन ।

पुरातनवादी युगको अन्त्यका लागि समरमा होमिने आम भुइँमान्छेहरुको चाहाना भनेको नयाँ हो । त्यसैले ओलीलाई मिल्काएर सत्ताको भातभान्सा सम्हालेकाहरु गफमा रमाउने फुर्सद छैन । गफ र आरोप लगाउन त ओली नै काफी थिए । यो समय केही गरेर देखाउने बखत हो । यदि ओलीकै बेहोरा देखाउने हो भने ‘ओली प्रतिगमन मुर्दावाद’ भन्दै सडकमा उर्लनुको के अर्थ ?

ओली आरोप लगाउँदै गर्छन् । उखा टुक्का हाल्दै गर्छन् । तपाईं धान डुवेका किसानको बलेनीमा जानुस् । उनीहरुको क्षति र पीडाको उचित मूल्यांकन गर्नुस् । ओलीले उखान हान्दै गर्छन् । तपाईं बाढीपीडित जनताको घाउमा मल्हम लगाउनुस् । ओली आफूबिना देश नै नचल्ने अहंकार व्यक्त गर्छन् । तपाईं सत्ताको दृष्टिबाट सुदूरमा चौरिएका मुहारहरुको सेवा गर्नुस् । पटकपटक उखु किसानका आँसु पिएर मात्तिएका ओली सुध्रिनु धेरै परको विषय हो । बरु ती खुम्चिएका उखु किसानको बारीमा पुग्नुस् ।

अन्यथा, सोझा जनताहरु तपाईंले चुनाव जित्दा पनि ताली बजाउँछन् । तपाईंका हरेक भाषणहरूमा पनि ताली बजाएकै थिए । बजाउने पनि छन् । जनताले तपाईंको भाषण सुनेर ताली बजाएको बदलामा तपाईंले केही नदिएजस्तै जनताले भने तपाईंलाई पटकपटक माफी दिने छैनन् ।

नेताहरुलाई सत्तामा पुर्याउनकै लागि निर्धा जनता फेरि उही हिजोकै व्यवस्थामा लतारिनुपर्ने जरुरी के छ ? अनुहार त थुप्रै फेरिए । परन्तु नेताहरुको व्यव्हार कहिले फेरिने हो ? विगतमा गरेका गल्ती, कमजोरीलाई सच्याउँदै अगाडि बढ्नुस् देश प्रतिगमनमा फर्किने छैन, अग्रगमनमै अगाडि बढ्ने छ ।

प्रतिक्रिया दिनुहोस्