Logo
Logo

विगतमाझै गुञ्जिएन देउसीभैली


चन्द्रकला भण्डारी/रासस


झापा । तिहार भन्ने बित्तिकै झिलिमिली बत्ती र देउसीभैलीको सम्झना सबैलाई हुन्छ । तर यसपाली चाडलाई उल्लास थप्ने देउसीभैलीहरु भने बत्ती बालेरै खोज्नु पर्ने अवस्था भयो । कोरोनाको कारणले पहाड र मधेस सबैतिर देउसी र भैली खेल्न आउने टोली दुर्लभ जस्तै भएको छ ।

पौराणिक कथा अनुसार बलिराजाले घर घर पुगेर देउसीभैली खेल्न उर्दी गरेपछि तिहारमा यसको चलन सुरु भएको हो । लक्ष्मीपूजा गरेपछि महिलाहरु भैली खेल्न र गोबर्धन पूजा गरेपछि पुरुषहरु देउसी खेल्न हिँड्ने प्रचलन छ ।

संस्कृति र परम्परा कुनै पनि समुदायको पहिचान हो । नेपालीको साझा संस्कृतिको रुपमा विकास भएको दसैं, तिहार र छठ जस्ता चाडपर्वको महत्व घट्न दिन नहुने साहित्य चौतारी झापाका अध्यक्ष देवीभक्त श्रेष्ठ बताउँछन् । उनले यसपाली देउसीभैलीको स्वर गाउँ सहरमा कम गुञ्जिएकोमा चिन्ता व्यक्त गरे ।

कोरोनानै देउसीभैलीको सङ्ख्या कम हुनुको मुख्य कारण भएतापनि नयाँ पुस्तामा बढिरहेको इन्टरनेट लत पनि यसको अर्को कारण भएको मानिन्छ । इन्टरनेटको सहज पहुँचका कारण बालबालिकाहरु मनोरञ्जनका लागि मोबाइलमा ‘भर्चुअल गेम’ र सामाजिक सञ्जालमा नै मस्त देखिन्छन् ।

झापामा साहित्य चौतारीको पहलमा हरेक वर्ष झापाली स्रष्टाहरुले दक्षिणारहित देउसीभैली खेल्दै आएका छन् । यसपटक स्वास्थ्य मापदण्ड पालना गरी चौतारीले विर्तामोडमा सामूहिक रुपमा देउसी कार्यक्रम गरेको थियो ।

संस्कृतिको संरक्षण, मनोरञ्जन र सार्वजनिक संस्थाको कोषवृद्धिका लागि देउसीभैली खेल्ने पुरानै चलन हो । यसपटक सांस्कृतिक भेषभूषामा सजिएर नाचगान गर्दै हिँड्ने देउसी टोली आफ्ना गाउँतिर नदेखिएको नेपाली कांग्रेस अर्जुनधाराका उपसभापति चतुर्भुज काफ्लेले बताए । “पूजापाठ गर्ने र भाइटीका लगाउने चलनको तिहारमा आफ्नै महत्व छ, तर आँगनमा देउसीभैली नगुञ्जिँदा कता कता खल्लो जस्तो लाग्दोरहेछ”, काफ्लेले भने ।

“पार्टीको भवन निर्माणका लागि सहयोग जुटाउन हामी पनि केही ठाउँमा देउसी टोली लिएर गयौं, तर जुन जुन गाउँमा गयौं, त्यहाँ अरु कोही पनि देउसी खेल्न आएकै थिएनन् । सुनसान जस्तो लाग्यो ।”

मेचीनगरको वडा नं। १० खयरडाँगीमा पाँच सय जति घर छन् । विगतमा लक्ष्मीपूजाका दिनदेखि भाइटीकाको मध्यरातिसम्म देउसीभैली खेल्ने टोलीको लर्को हुन्थ्यो । बालबालिका, युवा र पाकाहरुको छुट्टाछुट्टै टोली हुन्थ्यो देउसीको । तर यसपाली गाउँमा दुई चार वटा देउसी र भैली टोली मात्र डुलेको स्थानीय कल्पना अधिकारी बताउँछन् ।

झापामा मात्र होइन पहाडी जिल्ला इलाममा समेत देउसीभैलीको चहलपहल अत्यन्त कम भएको अग्रज पत्रकार सोम सुसेलीले जानकारी दिनुभयो । उहाँले कोभिड–१९ को महामारी समाप्त नभएको जनाउँदै त्यसैका कारणले हिँडडुलमा स्वनियन्त्रण हुँदा देउसीभैली सुनसान भएको बताए ।

इलाम बजार मात्र नभएर ग्रामीण क्षेत्रमा समेत नाचगान लिएर हिँड्ने टोली नदेखिएको र बालबालिकाहरुलाई अभिभावकहरुले नै हिँडडुलमा अनुमति नदिएको उनले बताए ।

स्थानीय प्रशासन र पालिकाहरुले समेत राति देउसीभैली नखेल्न आग्रह गरेको पाइएको छ । कोरोना महामारीको चपेटामा परेर धेरै आफन्त र छिमेकी गुमाएका कारण सर्वसाधारणमा अझै पनि त्रास व्याप्त छ ।

चाँडबाडमा कोरोना सङ्क्रमणको जोखिम उच्च हुनसक्ने जनाउँदै बेफिक्री हिँडडुल नगर्न सरकार र सञ्चारमाध्यमहरुले सचेत गराइरहेको हुँदा पनि देउसीभैली कम भएको मेचीनगरस्थित महालक्ष्मी कृषि सहकारी संस्थाकी अध्यक्ष दुर्गा खतिवडा बताउँछन् ।

“बालबालिकाले अहिलेसम्म खोप लगाउन पाएका छैनन्, उनीहरुलाई जथाभावी हिँडडुल गर्दा कोरोना लाग्ने जोखिम छ”, खतिवडा भन्छन्, “बिगतमा साना केटाकेटीलाई देउसीभैलीको बढी हुटहुटी हुन्थ्यो । यसपटक डरले गर्दा चहलपहल नै कम भयो ।” झापाका अधिकांश पालिकाले तिहार अघि सूचना जारी गरी राति अबेरसम्म देउसी नखेल्न सचेत गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्