Logo
Logo
सुरु भयो छठको रौनक

नदी र पोखरीहरु चिरिच्याट्ट, बजारमा किनमेलको भीड



कलैया । नेपालीहरुको महत्वपूर्ण तिहारको समापनसँगै तराई मधेसमा विशेष रुपमा मनायने छठ पर्वको रौनक प्रारम्भ भएको छ । चार दिनसम्म मनाइने छठ पर्व सुरु हुनुभन्दा अघि मधेसका शहर बजारमा किनमेल गर्नेको भीड बढेको छ ।

यस वर्ष सूर्यको पुजा आराधना गर्ने यो पर्व विधिवतरुपमा कात्तिक २२ सोमबार सुरु भएर २५ गते बिहीबार उदाउँदै गरेको सूर्यलाई अर्घय दिएपछि समापन हुन्छ । अत्यन्त निष्ठा एवम् पवित्रताका साथ मनाउँनुपर्ने भएकाले भगवानका रुपमा सूर्यको पुजा गर्ने व्रतालुहरुले महिना दिनदेखी नै विभिन्न कुरा बार्ने गर्दछन् ।

मधेसको कलैया, वीरगंज, जनकपुर, जलेश्वर, राजविराज, विराटनगर, लहान, भैरहवा, नेपालगंज लगायतका ठाउँहरुमा छठपर्वको विशेष चहलपहल रहेको छ । आजभोली तराई मधेसका ठाउँका साथै संघीय राजधानी काठमाडौंमा समेत छठ पर्व मनाउँन थालिएको छ । काठमाडौंको विभिन्न नदीका साथै पोखरीहरुमा छठपर्व मनाउँनका लागि सजाउँने गरिएको छ ।

कलैयाका शिवशंकर मिश्रकाअनुसार बाराको सदरमुकाम कलैयाको रामजानकी मन्दिर, सिद्धेश्वर मन्दिर, बरेवा, सिम्रौनगढ, गढिमाई मन्दिरको पोखरी, कोल्हवी, प्रसौनि, जितपुर, बेलहिया, प्रस्टोका लगायत ठाउँमा छठीमाईलाई दुलहीझै सृङ्गार गर्ने कामले तीव्रता पाएको छ । यी ठाउँमा छठ पर्व गर्ने ठाउँको पोखरी र नदी किनार छेउँमा सरसफाई गर्ने काम पनि भएको छ ।

छठ पर्वको लागि आवश्यक पर्ने सामाग्रीहरु बाँसको चोयाले बनाईएको दउरा (टोकरी), सुपली, नाङ्गलो, माटोबाट बनाइएको भाँडावर्तनका साथै नरिवल, मिठाई, केराउँ, सुथनी, अदुवा लगायतको किनमेल गर्ने कामले बजारमा भीडभाड बढेको छ ।

छठ पर्वमा भगवान सूर्यलाई प्रसादका रुपमा ठेकुवा, भुसुवा, केरा, मिठाई, उखु, नरिवल, पान, सुपारी, वयर, सिंघडा, लगायतका सामाग्री नयाँ माटोको भाँडोको कोसी र बाँसको टोकरीमा राखेर सूर्यदेवलाई अपर्ण गर्ने गरिएको कलैया राजदेवी टोलकी छठ व्रतालु सुभद्रा देबी बताउँछन् ।
‘आरोग्य भास्करदिच्छेत’ मुल उदेश्यका साथ मनाउने गरिएको यस पर्वमा परिवारको कल्याण, सन्तान प्राप्तिका साथै मनोकांक्षा पुरा हुने विश्वासका साथ व्रत बस्ने गरिन्छ ।

छठ पर्वमा महिला वा पुरुष जो पनि व्रत बस्न सक्छन् । पहिला मुख्यतः मधेसी समुदायले मात्र मान्ने यो पर्व आजभोली पहाडी समुदायले पनि मनाउन थालेका छन् । यसले मधेस र पहाडबीच रहेको मतभेद अन्त्य गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वासको गरिएको छ ।

कलैयाकी सुनिता श्रेष्ठको परिवारले धेरै पहिलदेखि छठ मनाउँदै आएका छन् । बाउबाजेलेको पालादेखि नै छठ मनाउँदै आएकाले आफूहरुले पनि निरन्तर मनाउँदै आएको सुनिताको भनाइ छ । सुनिता जस्तै यहाँका धेरै पहाडी समुदायले उदाउँदै र अस्ताउँदै गरेको सूर्यलाई अर्घय दिएर विधिपूर्वक छठ मनाउने गरेका छन् ।

छठको पहिलो दिनलाई ‘नहाय खाए’ भनिन्छ । नहाय खाएका दिन व्रतालुले आफ्नो भान्साघरलाई सफा पारी चोखो बनाइन्छ । नङ काटेर नुहाइधुवाई गरी चोखो भइ लसुन र प्याज नभएको खाना खाने चलनअनुसार व्रतालुहरुले रहरीको दाल, लौकाको तरकारी, चामलको भात, दही लगायत खाने चलन रहेको कलैया १६ की सुनिता यादव बताउँछन् ।

दोस्रो दिन ‘खरना’ मनाइने चलनअनुसार व्रतालुहरु दिनभरी व्रत बसेर बेलुका नैवेध चढाइ सक्खर हालेर बनाइएको खीर तथा मुला र केरा खाने चलन छ । तेस्रो दिन छठ घाटमा गई अस्ताउँदै गरेको सूर्यलाई अर्घय दिइन्छ भने चौथो दिन बिहान उदाउँदै गरेको सूर्यलाई अर्घय दिएपछि विधिवत रुपमा छठ पर्व सम्पन्न हुन्छ ।

नेपालका विभिन्न चाडपर्व मध्ये छठ पर्व तराई मधेस बासिन्दाका लागि मुख्य पर्व मध्येको एक हो । अहिले छठ पर्वका लागि आवश्यक समानहरु किन्नेको बजारमा भीड बढेको छ । यस वर्ष कात्तिक २४ गते छठ पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्