Logo
Logo
प्रदेश

बागमतीका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिँदै



काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज (सोमबार) प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् । गठबन्धनको तर्फबाट गत कात्तिक ११ गते नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका पाण्डेले सोमबार ३ बजे प्रदेशसभाको बैठकमा विश्वासको मत लिने भएका हुन् ।

मुख्यमन्त्री पाण्डेले प्रदेश सभाबाट विश्वासको मत लिने प्रयोजनका लागि सोमबार दिउँसो ३ बजे प्रदेश सभाको बैठक बोलाइएको छ । विश्वासको मत लिन मुख्यमन्त्री पाण्डेले प्रदेश सभाको सचिवालयमा लिखित जानकारी गराइसकेका छन् ।

एमाले विभाजित भएसँगै अल्पमतमा परेकी अष्टलक्ष्मी शाक्यले कात्तिक १० विश्वासको मतको प्रस्तावका लागि हुने मतदानमा प्रक्रियामा सहभागी नभइ राजीनामा दिएकी थिइन् ।

गठबन्धनको दलहरु नेकपा (माओवादी केन्द्र), नेपाली काँग्रेस र जनता समाजवादी पार्टी नेपालको सहमतिमा नेकपा (एकीकृत समाजवादी) बागमती प्रदेश संसदीय दलका नेता पाण्डे मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । हाल बागमतीमा मुख्यमन्त्रीसहित चार सदस्यीय मन्त्रिमण्डल रहेको छ ।

मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तारसँगै सरकारको आगामी साझा कार्यक्रम सार्वजनिक गर्ने जनाइएको छ । हाल १०९ प्रदेश सभा सदस्य कायम रहेको प्रदेश सभामा बहुमतका लागि ५५ जना प्रदेश सभाका सदस्य आवश्यक हुन्छ। गठबन्धनबाट मुख्यमन्त्री बनेका पाण्डेको पक्षमा ५९ जनाको हस्ताक्षर गरेका थिए ।

प्रदेश सभामा एमालेको ४३ जना, माओवादी केन्द्रको २३, कांग्रेसको २२, एकीकृत समाजवादीको १३, विवेकशील साझा पार्टीको तीन, नेमकिपा र राप्रपाको दुई–दुई जना तथा जनता समाजवादी पार्टी नेपालको एक जना प्रदेश सभाका सदस्य छन् ।

मुख्यमन्त्री पाण्डेले सदनबाट विश्वासको मत लिएलगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ । मुख्यमन्त्री नियुक्त भएकै दिन ३ जना मन्त्री नियुक्त गरी प्रदेश सरकार गठन गरेका छन् । उनले काँग्रेस संसदीय दलका उपनेता कृष्णलाल भँडेल, माओवादी संसदीय दलका उपनेता कुमारी मोक्तान र नेकपा एकीकृत समाजवादी संसदीय दलका उपनेता कृष्णप्रसाद खनाललाई मन्त्री नियुक्त गरेका थिए ।

भँडेललाई भौतिक पूर्वाधार विकास मन्त्रालय, मोक्तानलाई सामाजिक विकास मन्त्रालय र खनाललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्