Logo
Logo

युवाको ऊर्जा देशको विकासमा खर्चिनुपर्छ : अभिनेता हमाल


- दृष्टि न्युज/संवाददाता


बाजुरा, २६ वैशाख । नेपाली फिल्मका अभिनेता राजेश हमालले युवालाई समृद्धिको प्रमुख स्रोतका रुपमा व्याख्या गरेका छन् । बाल स्याहारगृहको उद्घाटनका लागि बुधबार बाजुराको ब्रह्मतोला आएका अभिनेता हमालले युवाको ऊर्जा देशको विकासमा खर्चिनुपर्ने बताए ।
अभिनेता हमालले कान्छो अभियानकर्मी केपी खनालले अनाथ बालबालिकाका लागि निर्माण गरेको बाल स्याहारगृहप्रति लक्षित गर्दै केपी खनाल सबैको प्रेरणाको स्रोत हुनुपर्ने बताए ।
बहुसंख्यक युवामा प्रतिभा भए पनि अवसर नपाएर शक्ति खेर गएको उनको भनाइ थियो । उनका अनुसार अवसरको कमी छ, राज्यले त्यसको प्रत्याभूति दिन सके युवाशक्तिलाई समृद्धिका लागि प्रयोग गर्न सकिन्छ । ‘जीवन आफ्ना लागि सबैले बाँच्न सक्छन्, तर अरुका लागि केही गरेर मर्नु नै महानता हो’, हमालले भने ।
सोही कार्यक्रममा पूर्वमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्णबहादुर थापाले अनाथको अभिभावक हुने सौभाग्य प्राप्त गर्ने परोपकारी व्यक्तित्व समाजका ‘आइडल’ भएको बताए ।
गृह निर्माणकर्ता एवं कान्छो अभियानकर्मी खनालले साझा हित र परोपकारी कार्य राजनीतिक आस्था र स्वार्थभन्दा माथि राखेर गर्न आग्रह गरे । क्लिन काष्ठमण्डप अभियानका खनालले बाजुराजस्तो दुर्गम क्षेत्रमा आएर अनाथका लागि आश्रम बनाउन पाउँदा निकै खुशी लागेको बताए ।
बाल स्याहारगृह अघिल्लो वर्षको वैशाख २५ गते शिलान्यास गरिएको थियो भने उद्घाटन पनि सोही दिन गरिएको हो । भवन रु ५० लाख बढी लागतमा निर्माण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्