Logo
Logo

हामीले चाह्यौँ भने एक हप्तामै सरकार ढाल्न सक्छौँ : ओली



विराटनगर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसद पुनस्र्थापना गरिए पनि अदालतले आफ्नो मर्यादाको ख्याल नगरेको टिप्पणी गरेका छन् ।

एमाले मोरङ जिल्ला कमिटीले सोमबार विराटनगरमा आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो टिप्पणी गरेका हुन् ।

ओलीले संसद् विघटन बदरको फैसला असंवैधानिक र मिलीभगतमा भएको भन्ने अहिले खुल्दै गएको बताए । उनले नदेखिएका अझै धेरै कुरा भएको बताउँदै संसद् पुनस्र्थापना गर्ने अदालतले आफ्नो मर्यादाको ख्याल नगरेको बताए । मन्त्रीदेखि राजदूतसम्मको पद मिलाउने र बनाउने गरेको विस्तारै देखिन थालेको उनले टिप्पणी गरे ।

एमाले छाडेर मन्त्री हुन गएकाहरूले अबको निर्वाचनमा जमानत पनि जोगाउन नसक्ने दाबी गर्दै उनले भने, ‘उनीहरूले अब हुने चुनावमा जमानत जोगाएर देखाउन त ।’ एमाले अहिले सरकारमा नभएर पनि सबैभन्दा ठुलो पार्टी नै रहेको उनले बताए ।

ओलीले गठबन्धन र सरकारको आलोचना गर्दै माधव नेपाल एमाले छाडेर गएपनि केही फरक नपरेको बताए । ‘हामीले चाह्यौँ भने एक हप्तामै सरकार ढाल्न सक्छौँ । तर, १३ महिनामै चुनाव हुने भएकाले अब त्यतापट्टि लागिँदैन’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्