Logo
Logo

एकीकृत समाजवादीका सम्मानित नेता खनाल पार्टीको काममा फर्के



काठमाडौं । लामो समयको स्वास्थ्य उपचारपछि नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनाल पार्टीको नियमित काममा फर्केका छन् ।

सोमबार पार्टी कार्यालय आलोकनगरमा दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म उपस्थित भइ विदेश विभाग प्रमुख समेत रहेका खनालले विभागको पहिलो बैठक राखेका छन् ।

विभागका सदस्यहरुसँग विभागका आगामी कामबारे छलफल गरेका खनालले पार्टी कार्यालयका पदाधिकारी तथा कर्मचारीसँग कार्यालयको अवस्थालगायत प्राविधिक विषयमा जानकारी लिएको एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

गत साउन २० गते भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेपछि चिकित्सकहरुको सल्लाहमा उनी घरमै बस्दै आएका थिए । मिर्गौला प्रत्यारोपणपछि खनाल दिल्लीबाट भदौ १४ मा स्वदेश फर्केका थिए ।

चिकित्सकहरुले तीन महिना पूर्ण आराम गर्न सल्लाह दिएका कारण त्यस अवधीभर उनी कुनै पनि कार्यक्रममा सहभागी भएनन् ।

नेकपा एकीकृत समाजवादी गठन भएपछि उनी एउटा मात्र सचिवालय बैठकमा उपस्थित भएका थिए । पार्टी कार्यालय स्थापना भएपछि खनाल पहिलोपटक कार्यालय पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्