Logo
Logo

कूटनीतिलाई परिणाममुखी र आर्थिक विकाससँग जोड्छु : जर्मनीका लागि प्रस्तावित राजदूत जोशी


0
Shares

काठमाडौं । जर्मनीका लागि नेपाली राजदूतमा प्रस्तावित सुरु जोशीले कूटनीतिक नियोगलाई आर्थिक विकास, वैदेशिक लगानी र श्रम कूटनीतिसँग जोडेर परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन् । 

संसदीय सुनुवाइ समितिको मङ्गलवारको बैठकमा उनले आफ्नो कार्ययोजना प्रश्तुत गर्दै नेपालको हित र समृद्धिका लागि आफ्नो अनुभवलाई पूर्ण रूपमा उपयोग गर्ने बताएकी हुन् ।  प्रस्तावित राजदूत जोशीले संयुक्त राष्ट्र सङ्घमा करिब २१ वर्ष काम गरेको अनुभवलाई कूटनीतिक क्षेत्रमा प्रयोग गर्दै नेपालको छवि सुधार र आर्थिक उन्नतिमा उपयोग गर्ने बताइन् । उनले आफूले कुनैपनि गैरसरकारी संस्थामा काम नगरेको स्पष्ट पार्दै राष्ट्रसङ्घीय निकायमा गरेको कामले स्वार्थको द्वन्द्व नहुने दाबी गरिन् ।

उनले आफ्नो कूटनीतिक प्राथमिकताका रूपमा आर्थिक कूटनीति, पर्यटन प्रवर्द्धन र वैदेशिक रोजगारीको व्यवस्थापनलाई अघि सारिन् । श्रम बजारको विषयमा उहाँले नेपाल र जर्मनीबीचको कन्सुलर सेवा र श्रम सम्झौतालाई अझ प्रभावकारी बनाउन आवश्यक रहेको उल्लेख गरिन् । दक्ष जनशक्ति पठाउने र नेपालमा रहेको जनशक्ति अभावलाई सम्बोधन गर्न निजी क्षेत्र र सरकारी निकायसँग समन्वय गरी कार्ययोजना बनाउने उनको भनाइ छ ।

जोशीले भनिनन्, ‘कूटनीति भनेको केवल प्राविधिक विषय होइन, यो अवसर खोज्ने माध्यम पनि हो । फिलिपिन्सबाट सिकेको अनुभवअनुसार म साना–साना अवसरहरूलाई पनि ग्रयाब गर्दै दुवै मुलुकको हित हुनेगरी परिणाममा लैजान केन्द्रित हुनेछु ।’

युक्रेनमा रहेका नेपाली र युद्धबन्दीका विषयमा परराष्ट्र मन्त्रालयसँग समन्वय गरी अघि बढ्ने बताउँदै उनले नेपालको जडीबुटीजन्य उत्पादनको निर्यातका लागि ल्याब टेस्ट र प्रमाणीकरणको व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याइन् । उनले जर्मनीमा रहेको नेपाली डायस्पोराको सीप र नेटवर्कलाई नेपालको विकासमा औपचारिक च्यानलमार्फत जोड्ने योजना पनि सुनाइन् । 

प्रतिक्रिया दिनुहोस्