Logo
Logo

हजयात्री ठगिंदै, पूर्वराज्यमन्त्री र अध्यक्ष करोडौं कमिसनमा मोलतोल गर्दै


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । हज कमिटीले १२ सय हजयात्रीको टाउकोमा ठूलो रकम भार पार्न घरभाडादेखि हवाई टिकटसम्ममा कमिसनको मोलमोलाई गरिरहेको छ । हवाई टिकटमा हिना ट्राभल्ससँग घुसमा कुरा मिलिसकेपछि हज कमिटीका अध्यक्ष समशेर मियाँ र पूर्वराज्यमन्त्री जाकिर हुसेन साउदीमा घरभाडामा करोडौं कमिसनको डिल गर्न ब्यस्त छन् ।

हज कमिटीसँग असम्बन्धित पूर्वराज्य मन्त्री जाकिर हुसेनको डिजाइनमा साउदी अरबमा घरभाडामा करोडौं कमिसनको बार्गेनिङ भइरहेको छ । हज कमिटीका अध्यक्ष समशेर मियाँ र हज कमिटीसँग असम्बन्धित पूर्वराज्यमन्त्री हुसेन अहिले साउदी अरबमा हजयात्रीहरुको लागि घरभाडामा मोलमोलाई गरिरहेका छन् ।

हज कमिटीलाई साउदी अरबको मक्का मदिनामा हजयात्रीहरुलाई लैजाने ब्यवस्थापनका लागि बार्षिक २ करोड रुपैयाँ दिने गर्दछन् । मक्कामदिनामा जानका लागि हवाई टिकटदेखि त्यहाँ ४५ दिन बस्दाको घरभाडा समेत हजयात्रीले नै तिर्नुपर्छ । हज कमिटीका अध्यक्ष समशेर मियाँ र जाकिर हुुसेन हजयात्रीमाथि अतिरिक्त भार थोपरेर आफू कमिसन खान साउदी अरबमा घरभाडामा कमिसनको लागि बिचौलियासँग मोलमोलाई गरिरहेका छन् । हज कमिटीका अध्यक्ष मियाँ र जाकिर हुसेन मिलेर हज गर्न जानेहरुलाई घरभाडा र टिकट महंगोमा पारी आफू मालामाल हुन लागेका छन् । घरभाडामा २ करोड र हवाई टिकटमा १ करोड रुपैयाँ कमिसन खाने दाउमा समशेर र जाकिर लागेका छन् । यो बर्ष हजका लागि मक्कामदिनामा १२ सय हजयात्री जाँदैछन् ।

साउदीको मक्का र मदिनामा हजयात्री राख्नका लागि घरभाडामा लिने क्रममा घर मिलाउने मसुद अलीसाग ७ लाख साउदी रियाल घुस मागेको सूचना हज कमिटीका सदस्यहरुसम्म पुगेको छ । मसुद अलीले प्रत्येक हाजीसँग १७ सय रियाल लिंदा आफूलाई ५० रियालमात्र फाइदा हुने भएकाले ७ लाख रियाल घुस दिन नसक्ने बताएपछि उनीहरु अर्का एजेन्टको खोजीमा लागेका छन् । उनले प्रतिहजयात्री २ हजार रुपैयाँ तिर्ने हो भने केही कमिसन दिन सकिने तर ७ लाख रियाल अर्थात् नेपाली २ करोड १५ लाख दिन नसकिने बताए । उनले हज कमिटीका अध्यक्ष मियाँ र जाकिर हुसेनलाई हजयात्रीले कमिसन लिएको थाहा पाए कसैलाई पनि राम्रो नहुने कुरामा सचेत गराउँदा पनि उनीहरुले कमिसनको मोलमोलाई छाडेका छैनन् ।

 

हाजीहरुलाई ३५ दिनका लागि मक्का र १० दिन मदिना गरी ४५ दिनको प्रतिब्यक्ति १७ सय रियालमा पाउँदा पाउँदै मागे जति घुस नपाएपछि उनीहरु मदिना युनिभर्सिटीमा पढ्ने इशहाक नामक बिचौलियामार्फत् घर मिलाएर कमिसन खाने दाउमा छन् । हज कमिटीको कुनै पनि पदमा नभएका जाकिर हुसेन, शमशेर मिया र गृहमन्त्रालयका उपसचिव सूर्यबहादुर खत्रीको टोली १२ दिन साउदीमा बसी फर्किएको थियो ।
साउदी दूताबासमा कार्यरत अबुल कलामका भाइ इशहाकको साउदीमा राम्रो छवि छैन ।

भैरहवा र कृष्णनगर भन्सारबाट तस्करी गरी अथाह सम्पत्ति कमाएका समशेर मियाँले करोड भन्दा बढी खर्चेर हज कमिटीको अध्यक्षमा नियुक्त भएको भनी पूर्व माओवादी केन्द्रकै मुस्लिमहरुबीच विवाद छ । मन्त्रिपरिषदले मात्र हज कमिटीको अध्यक्ष नियुक्त गर्ने प्रचलन तोडी गृहमन्त्री रामबहादुर थापाले मन्त्रीस्तरीय निर्णयबाट उनलाई नियुक्त गरेका थिए । उनलाई नियुक्त गर्न केही माओवादीका नेताहरु नै लागेका थिए । हज कमिटीमा तस्करलाई नियुक्त गरिएकोमा गृहमन्त्री थापा आलोचित समेत भएका थिए । समशेर मियाँ मुस्लिम आयोगको सदस्यसचिव हुँदा उनको अभद्र ब्यवहार सहन गर्न नसकी आयोगकै एक महिला सदस्यले उनलाई आयोगकै कार्यकक्षमा जुत्तैजुत्ताले प्रहार गरेकी थिइन् । उनी कृष्णनगर र भैरहवा भन्सारबाट भन्सार कर्मचारीसँग सेटिङ गरी सामान भित्र्याउने पात्र हुन् ।

भन्सारछली गरी आर्जन गरेको अकूत सम्पत्ति साविक माओवादी नेताहरुलाई दिएरै उनी हज कमिटीको अध्यक्ष भएको मुस्लिम नेताहरुले नै भन्दैआएका छन् ।

पूर्व राज्यमन्त्री जाकिर हुसेन १० बर्षअघि दुवईमा बैदेशिक रोजगारीमा थिए । विदेशबाट फर्किएपछि उनी शरदसिंह भण्डारीको राष्ट्रिय मधेश समाजवादी पार्टीमा आवद्ध भए । शरदसिंहको पार्टीबाट गोपाल किराँतीसँग सम्बन्ध बनाएर उनी नेकपा माओवादीमा प्रवेश गरेका थिए । किराँतीकै जोडमा उनी यसअघि समानुपातिक सांसदको सूचीमा पर्न सफल भए । सूचीमा परेपछि सांसद पनि भए ।

शेरबहादुर देउवाको सरकारमा उनी महिला, बालबालिका राज्यमन्त्री भए । उनको पृष्ठभूमि अवसर र लाभको खोजीमा हिंड्ने देखिन्छ । अहिले समशेर मियालाई प्रयोग गरी हज कमिटीबाट करोडौं कमिसन खाने दाउमा उनी लागेका छन् । उनकै सल्लाहमा हज कमिटीका अध्यक्ष समशेर मियाँले हाजी ठगेर लाभ लिनका लागि घरभाडामा मोलमोलाई गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्