भारतमा ट्याङ्करले बसलाई ठक्कर दिँदा १२ जनाको मृत्यु « Drishti News – Nepalese News Portal
Logo

भारतमा ट्याङ्करले बसलाई ठक्कर दिँदा १२ जनाको मृत्यु


दृष्टि संवाददाता


नयाँदिल्ली। भारतको राजस्थानमा एउटा ट्याङ्कर ट्रेलरले बसलाई ठक्कर दिँदा १२ जनाको ज्यान गएको छ । बाडमेर–जोधपुर राजमार्ग (हाइवे) मा २५ जना व्यक्ति सवार बसलाई ट्याङ्कर ट्रेलरले ठक्कर दिएपछि बसमा आगो लागेको थियो ।

घटनास्थलमै प्रहरी भएकाले छिटै उद्धार भए पनि केही मिनेटभित्रै १२ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । १० जनालाई भने प्रहरीले जीवितै उद्धार गरेको छ ।

बसलाई गलत दिशाबाट आएको ट्याङ्कर ट्रेलरले ठक्कर दिएको थियो । बच्न सफल एक यात्रुका अनुसार ट्याङ्कर ट्रेलरले ठक्कर दिएको केही मिनेटमै बस जलेर ध्वस्त भएको थियो । प्रहरीले ट्याङ्कर ट्रेलरका चालकलाई पक्राउ गरेर घटनाको अनुसन्धान थालेको खबरमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्