काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनलाई थप बलियो बनाउनका लागि पाँच दलीय गठबन्धन समन्वय समिति गठन गरिएको बताएका छन् ।
शुक्रबार काठमाडौंमा बसेको पार्टीको स्थायी कमिटी बैठकमा बोल्दै अध्यक्ष नेपालले गठबन्धनलाई चूनावसम्म नै बलियो बनाउनका लागि समिति गठन गरिएको बताएका हुन् ।
उनले समितिले सरकारको कामलाई प्रभावकारी बनाउनका लागि नीतिगत सुझाव दिने जानकारी दिए । समितिको नेतृत्व आलोपालो गर्ने सहमति भएको जानकारी गराउँदै अध्यक्ष नेपालले अव गठबन्धनलाई कसैले कमजोर बनाउन नसक्ने धारणा राखे ।
त्यस्तै उनले आफ्नो पार्टीमा एमाले छाडेर आउने, अन्य पार्टीबाट प्रवेश गर्ने र सहकार्य गर्न चाहनेहरुको संख्या बढेको भन्दै यसले थप उत्साह पैदा गरेको बताए । उनले अन्य केही पार्टी नेकपा (एकीकृत समाजवादी) मा समाहित गर्न खाजेको दावी गरे ।
‘नेकपा एमाले छाडेर हाम्रो पार्टीमा प्रवेश गर्ने सिलसिला चलेको छ । उदाहरणको निम्ति डडेलधुरा जिल्ला, त्यहाँ झण्डै झण्डै सबै जिल्ला कमिटी नै एमाले छोडेर हाम्रो पार्टीमा प्रवेश गरेको छ। बेग्लै किसिमको उत्साह पैदा गरेको छ। तरंग पैदा गरेको छ। यति हुँदाहुँदै हाम्रो विपक्षमा केपी गुट पूरै लागिपरेको छ र उसले अनावश्यक आरोप लगाइरहेको छ। झूटा प्रचार गरिरहेको छ। यसको सशक्त प्रतिकार गर्ने कुरालाई अझै चोटिलो र धारिलो बनाउनु पर्नेछ,’ अध्यक्ष नेपालले भने।
अध्यक्ष नेपालले नेकपा (एकीकृत समाजवादी) बिरुद्ध कसैले भ्रम सिर्जना गर्न खोजे प्रतिवाद गर्न निर्देशन दिए ।












