काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले स्थानीय पार्टीको स्थानीय समितिको पदाधिकारी संख्या र राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिको संख्या बढाएको छ ।
शुक्रबार भर्चुअल माध्यममा बसेको केन्द्रीय समिति बैठकले विधान संशोधन गर्दै पदाधिकारी र राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिको संख्या बढाउने निर्णय गरेको हो ।
केन्द्रीय सदस्य युवराज दुलालका अनुसार अब गाउँपालिका र नगरपालिका समितिमा ७ जना पदाधिकारी रहने गरि विधान संशोधन गरिएको छ । माओवादीको विधानमा यसअघि स्थानीय समितिमा ५ जना पदाधिकारी हुने व्यवस्था थियो।
अब त्यसलाई स्थानीय समितिमा अध्यक्ष- १, उपाध्यक्ष-३, सचिव-१, सहसचिव- १ र कोषध्यक्ष-१ गरि ७ पदाधिकारी हुने छन् । त्यस्तै जिल्ला समन्वय समितिमा पालिकाका अध्यक्ष, उपाध्यक्ष र सचिव पनि रहने छन् ।
त्यस्तै बैठकले प्रदेशहरुबाट ८०० प्रतिनिधि सहभागी हुने निर्णय गरेको छ । यसअघि राष्ट्रिय सम्मेलनका लागि प्रदेशहरुबाट ६०० प्रतिनिधि सहभागी हुने निर्णय गरेको थियो । सदस्यता नवीकरण जारी रहेकाले महाधिवेशनमा अझै थपिन सक्ने बताइएको छ ।











