Logo
Logo

सर्वोच्चमा जे देखियो


1.1k
Shares

काठमाडौं । सशस्त्र प्रहरी र दंगा नियन्त्रणका लागि परिचालन हुने नेपाल प्रहरीले रामशाहपथस्थित सर्वोच्च अदालतलाई बाहिर र भित्रबाट घेरा लगाएका थिए । महान्यायाधिवक्ताको कार्यालयदेखि नेपाल बार एसोसिएसन भवनको पल्लो छेउसम्म उनीहरू तैनाथ थिए ।

उनीहरूलाई शुक्रबार बिहान ९ बजे नै उतारिएको थियो । प्रहरी अधिकृतहरू आफू मातहतका अधिकारी र जवानलाई आदेश दिन यताउता गर्दै थिए । अर्कातिर बारका पदाधिकारी साढे ९ बजेदेखि जम्मा हुन थाले । १० बजेसम्म बारमा कानुन व्यवसायीको ठूलो भीड भइसकेको थियो । तर उनीहरू सर्वोच्च जाने बार र अदालतबीचको गेटमा ताल्चा लगाइएको थियो । भित्रपट्टि प्रहरीको घेरा थियो ।

बार अध्यक्ष वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठले सर्वोच्चका मुख्य रजिस्ट्रार लालबहादुर कुँवरलाई अदालत प्रवेश गर्ने ढोकामा लगाइएको ताल्चा खोल्न आग्रह गरे । उनले अदालत कर्मचारी प्रशासनलाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको इसारामा चलेर बारको आन्दोलन दबाउनका लागि प्रयोग नहुन पनि चेतावनी दिए । ढोकाको ताल्चा खुलेन ।

बार पदाधिकारीको अगुवाइमा कानुन व्यवसायीहरू सर्वोच्च अदालतको मूल गेटमा पुगे । त्यहाँ प्रधानन्यायाधीशका पक्षमा नाराबाजी र प्रधानमन्त्री शेरबहादुर देउवा तथा बारको आन्दोलनविरुद्ध बोलिरहेका तीन महिलासँग कानुन व्यवसायीहरूको भनाभन भयो । तारा बराललगायतले कानुन व्यवसायीमाथि हात हाल्न थाले । प्रहरी भने दर्शक बनिरहेको थियो ।, यो समाचार कान्तिपुर दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्