काठमाडौं । न्यायालयभित्रको संकट टार्न कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले सहजीकरण थालेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा उनी दुई दिनयता दौडधुपमा छन् ।
सर्वोच्चको संकटले जनताको न्यायको हक पनि प्रभावित भएकाले समस्या सुल्झाउन प्रयास गरिरहेको मन्त्री बडूले बताए । ‘सरोकारवाला मन्त्रालयको नेतृत्व गरेको हैसियतले मैले विवादित पक्षसँग छलफल गरिरहेको छु,’ उनले भने, ‘सर्वोच्चका न्यायाधीशहरूसँग पनि सम्पर्क गरी समस्या समाधानको पहल भइरहेको छ ।’
न्यायालयमा देखिएको संकट समाधान गर्ने विषयमा प्रधानमन्त्री देउवाले बिहीबार आफूनिकट नेताहरूसँग छलफल गरेका थिए । छलफलमा सहभागी एक नेताका अनुसार निकटस्थको सल्लाहमै उनले मन्त्री बडूलाई अघि बढाएका हुन् । ‘विभागीय मन्त्री भएकाले उहाँलाई खुलेरै सहजीकरण गर्न सजिलो भएको छ,’ ती नेताले भने, ‘पार्टीका तर्फबाट पनि केही नेताले संकट समाधानको पहल गरिरहनुभएको छ ।’
आफूनिकटको छलफलमा देउवाले राज्यका तीन अंगको शक्ति सन्तुलनको सिद्धान्तलाई सम्मान गर्दै सरकारले न्यायालयको विवादमा हस्तक्षेप गर्न नहुने धारणा राखेका थिए । तर शक्ति सन्तुलनका स्तम्भ व्यवस्थापिका र कार्यपालिका पनि भएकाले संविधानले दिएको जिम्मेवारी पूरा गर्नुपर्ने सुझाव नेताहरूले दिएका थिए ।, यो समाचार कान्तिपुर दैनिकबाट साभार गरिएको हो ।











