Logo
Logo

‘बहिस्कारबीच भएको अधिवेशनलाई वैधता दिन सकिँदैन’



काठमाडौं । नेपाली कांग्रेस डडेल्धुराका सभापति कर्णबहादुर मल्लले केन्द्रीय निर्वाचन समितिको भूमिकामाथि प्रश्न उठाउँदै डडेल्धुरामा आफूहरुको बहिस्कारबीच भएको अधिवेशनलाई समितिले वैधता दिन नसक्ने बताए ।

उनले पार्टीको केन्द्रीय सभापति शेरबहादुर देउवाको निर्देशनमा समितिले काम गरिरहेको आरोपसमेत लगाए । उनले भने, ‘हामीले लिखित रुपमा सप्रमाण निर्वाचन समितिमा उजुरी दिएका छौं, के कति कारणले डडेल्धुराको अधिवेशन वैध भएको हो, समितिले हामीलाई पनि जानकारी गराउनुपर्छ ।’

जिल्ला सभापति मल्लले शनिबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै भने, ‘केन्द्रीय सभापतिको निर्देशनमा समितिले काम गरिरहेको हो कि भन्ने हामीलाई लागेको छ ।’

डडेल्धुरा जिल्ला कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवाको गृहजिल्ला हो । डडेल्धुरामा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको असहमतिका बीच भएको वडा र पालिका अधिवेशनलाई निर्वाचन समितिले वैधता दिएको छ ।

डडेल्धुरामा एकपक्षीय रुपमा अधिवेशन भएको भन्दै मल्ल पक्षले फेरि अधिवेशन हुनुपर्ने माग गर्दै आएको छ । तर निर्वाचन समितिले भने डडेल्धुरा जिल्लाको वडा र पालिका अधिवेशनलाई वैधता दिँदै महाधिवेशन कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

समितिको पछिल्लो संशोधित कार्यतालिकामा डडेल्धुरामा मंसिर ३ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन हुने उल्लेख छ । कांग्रेसको वडा अधिवेशन नभएका जिल्लामा शनिवारदेखि अधिवेशन प्रक्रिया शुरु भएको छ । देशभरका १३ जिल्लामा कांग्रेसको वडा अधिवेशन हुन बाँकी छ । कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ सम्म काठमाडौंमा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्